गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा नं २ ह्वाङ्दी हुँदै बिहीबार दर्लिङ पुगेको छ । मालिकाका तीनवटै वडामा पहिलोपटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको भीड लागेको थियो । साथै स्थानीयवासीले बाजागाजासहित बसलाई स्वागत गरेका थिए । पूर्वमन्त्री एवं सोही क्षेत्रका सांसद गोकर्ण विष्टले बसको उद्घाटन गरेका हुन ।
दर्लिङ–३ का ६८ वर्षीय पतिराम खड्कालाई आफ्नै घरअगाडि बस देख्न पाइन्छ भन्ने कल्पनासम्म थिएन । बुटबल, पाल्पा, तम्घासलगायतका ठाउँबाट हिँडेरै नुन, तेललगायतका सामग्री बोकेका उनले बिहीबार आफ्नै गाउँमा बस देखे । ‘गाउँमा बस त के, बाटोसम्म हुन्छ भन्ने पनि सोचेका थिएनौँ’, खड्काले भने, ‘आज बस नै आउँदा सपनाजस्तो लागेको छ ।’
गाउँमा यातायातको सुविधा नहुँदा धेरै दिन लगाएर तम्घास वा आवश्यक गन्तव्यमा पुग्ने गरेको उहाँले सम्झिनुभयो । दर्लिङमा १५ वर्षअघि खनेको सडकमा सुरुमा ट्र्याक्टरमात्रै गुड्थे । त्यसपछि जीप सञ्चालन हुन थाल्यो र अहिले बस नै गाउँमा पुग्दा आफू खुसी भएको उनले बताए ।
सोही स्थानकै ७१ वर्षीय नर्मती घर्तीले पनि गाउँमा बस पुग्दा खुसी लागेको बताए । बस आएसँगै जीपको भन्दा भाडा पनि सस्तो हुने उको अपेक्षा छ । ‘गाउँमा आए पनि घरमै आएजस्तै लागेको छ, जीपमा हिँड्दा दुई हजारसम्म खर्च हुन्थ्यो’, उनले भने, ‘बसमा अब भाडा पनि सस्तो होला ।’ आफू बस हेर्नकै लागि कार्यक्रमस्थलमा आएको उनले सुनाए ।
नियमित सञ्चालन गर्न चुनौती
बसले मुख्यतः गाउँपालिकाको वडा नं १ नेटा, वडा नं २ ह्वाङ्दी र वडा नं ३ दर्लिङसम्मका नागरिकलाई सेवा दिनेछ । सदरमुकाम तम्घासबाट दर्लिङसम्म ४५ किलोमिटर दूरी पर्छ । हिउँदको समयमा सडक राम्रै हुने भए पनि वर्षायाममा भने सञ्चालन गर्न चुनौती छ । वर्षायाममा अधिकांश ठाउँमा पहिरो जाने भएकाले नियमित बस सेवा सञ्चालन हुनेमा स्थानीयले शङ्का गरेका छन् । जीप पनि बाह्रै महिना सञ्चालन भएको छैन, सडकले साह्रै दुःख दिएको छ’, स्थानीय ४८ वर्षीय चन्द्रवती घर्तीले भने, ‘सडकको नियमितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्छ ।’ सडक बिग्रिएको अवस्थामा जीपमा पनि महङ्गो भाडा तिर्नुपरेको उनले सुनाए ।

