काठमाडौं । यातायात व्यावस्था विभागले दिएको लाइसेन्समा २०२१ मार्च २० गते म्याद सकिने उल्लेख भएपनि विभागको सिस्टमले लाइसेन्स खारेज भएको देखाएको छ ।
अहिलेसम्म १४९ जना मानिसले बोकिरहेको लाइसेन्समा यस्तो समस्या आएको र थप मानिस विभागमा उजुरी लिएर आउने क्रम जारी रहेको छ । सर्लाहीका यकेन्द्रप्रशाद मैनाली पनि आफ्नो समस्या लिएर विभाग धाइरहेका छन् ।
उनको लाइसेन्स (नम्बर ०१-०६-०००१२८६९) मा २०२१ मार्च २० गतेसम्मको म्याद छ । उनि यातायात कार्यालयमा नविकरणको लागि जाँदा उनको लाइसेन्स खारेज भइसकेको जानकारी दिइयो ।
आफ्नो लाइसेन्समा रहेको म्याद हेरेर नविकरणको लागि आएका उनको लाइसेन्स विभागको रेकर्ड अनुसार २०७३ साल पुसमै नविकरण गर्नु पर्ने देखियो । ५ वर्षसम्म लाइसेन्स नविकरण नभए स्वतः खारेज हुने भएकाले विभागको रेकर्ड अनुसार उनको लाइसेन्स खारेज भएको हो ।
यस विषयमा यातायात व्यवस्था विभागले गल्ती भएको स्विकार गर्दै तीन पटक सूचना निकालेर सेवाग्राहीलाई बोलाएको र आउने जतिको समस्या समाधान गरेको जनाएको छ ।
मन्त्रालय स्तरीय निर्णय सहित म्याद थप गर्न ३ पटकसम्म सूचना निकालेको र अब थप प्रक्रिया अगाडि लान नसक्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
‘अब विभागबाट यसका लागि केही गर्न सकिदैन, पहिलानै ३ पटकसम्म सूचना निकालिएको छ । अब सेवाग्राही नै कानुनी बाटो खोज्नु पर्ने देखिन्छ ’, घिमिरेले भने ।
पिडित मैनालीले लाइसेन्समा म्याद भएर पनि सिस्टममा म्याद सकिनु विभागकै लापरवाही भएको बताए । उनले विभागले सुचना निकालेको भने पनि त्यसको जानकारी आफुले पाउन नसकेको उनले बताए ।
‘विभागले सूचना निकालेको भन्छ, हामीले त्यो सूचना पनि भेटाएका छैनौँ, फेरी हाम्रो लाइसेन्समा म्याद हुँदा हुँदै किन रिन्यू गर्नु,’ मैनालीले भने ।
‘लाइसेन्स बोकेर हिड्दा ट्राफिकले किन रिन्यू नगरेको भन्छ, रिन्यू गर्न गयो रिन्यू हुँदैन खारेज भयो भन्छ, अब हामी सधै गाडी गुडाएर हिड्ने मान्छेले के गर्ने,’ उनले भने ।

