काठमाडौं । गतहप्ता चिनियाँ ब्राण्ड बीवाइडीदेखि अमेरिकी ब्राण्ड टेस्लाले विद्युतीय कारको मूल्य बढ्ने संकेत गरेसँगै विश्वभर एक किसिमको तरङ फैलिएको छ । यसले सबै किसिमका विद्युतीय सवारीसाधनको मूल्य बढ्ने देखिएको हो ।
विश्वका प्रायः सबै कम्पनीहरुले इलेक्ट्रीक भेहिकल बनाउने योजना अघि बढाएसँगै लिथियम आयोन ब्याट्रीको माग उच्च गतिमा बढी रहेको छ । परम्परागत पेट्रोलियम पदार्थबाट चल्ने साधन बनाउने कम्पनीहरु इभी उत्पादनमा ठूलो रकम खर्च गर्न थालेसँगै इभीको लागि चाहिने ब्याट्रीको मुख्य कम्पोनेन्ट लिथियम सप्लाईमा समसया देखिएको छ ।

विश्वमा लिथियमको आपूर्ति दिनसक्ने देशहरु चाइना, अष्ट्रेलिया, अर्जेन्टीना, चिली हुन् । अहिले पनि पश्चिमा देशहरुले नयाँ खानी खोज्न तिब्र गतिमा काम गरिरहेका छन् ।
एङ्लो अष्ट्रेलियन कम्पनी रियो टीन्टोसँग रहेको लिथियम खानीको लाइसेन्स सर्बियन सरकारले खारेज गरेसँगै सप्लाईमा थप समस्या देखिएको हो । अष्ट्रेलीया अहिले विश्वकै सबैभन्दा ठूलो लिथियम आपूर्तिकर्ता हो ।
लिथियम कार्बोनेटको विश्वका कुल उत्पादन सन् २०२१ मा ४ लाख ८५ हजार टन रहेको थियो । त्यो सन् २०२२ मा ६ लाख १५ हजार टन र सन् २०२३ मा ८ लाख २१ हजार टन पुग्ने प्रक्षेपण गरिएको छ ।
मूल्य बढ्दो
विश्व बजारमा मागको बढेसँगै लिथियमको मूल्य पनि गत वर्षबाटै बढ्न थालेको हो । लिथियम कार्बोनेटको चाइनामा माग अत्याधिक भएका कारण मार्च सुरुभएपछि मात्रै ७५ प्रतिशतले मूल्य बढेको छ । अहिले चाइनामा प्रतिटन मूल्य करिब ७८ हजार ३ सय डलर पुगेको छ ।

सन् २०२० मा प्रति टन लिथियमको मूल्य करिब ८ हजार डलर थियो । सन् २०२१ मा मूल्य दोब्बरले बढेर १६ हजार डलर पुगेको हो । सन् २०२१ बाट निरन्तर बढिरहेको लिथियमको मूल्य आपूर्तिमा सुधार हुन नसकेको कारण बढेर ८० हजार डलर नजिक पुगेको हो ।
इलेक्ट्रीक भेहिकलको लागि ब्याट्री मूख्य कम्पोनेन्ट हो । यसको मूल्यमा आएको ठूलो उतारचढावले विद्युतीय गाडीको मूल्य बढ्ने निश्चित रहेको छ । यसबीचमा बीवाइडीले आफ्नो ब्याट्रीको मूल्य २० प्रतिशतले बढाइसकेको छ ।

