काठमाडौं । पछिल्ला दिनमा चिनियाँ ब्राण्ड एकपछि अर्को गर्दै नेपाली बजारमा आइरहेका छन् । अहिले नेपालमा उपलब्ध चिनियाँ ब्राण्डले विद्युतीय गाडी समेत आयात सुरु गर्न थालेका छन् । केही ब्राण्ड भविष्यमा इभी ल्याउने तयारीमा छन् ।
नेपालमा चांगन, ग्रेटवाल, जेएसी, जेएमसी, चेरी लगयातका ब्राण्डले अहिले इन्टरनल कम्बस्चन इन्जिनका गाडी ल्याएर विक्री सुरु गरेको भएपनि यी सबै ब्राण्डको लक्ष्य भने विद्युतीय गाडी ल्याउने नै हो । ग्रेटवालले ओरा गुडक्याट नेपाल ल्याइसकेको छ ।
एमएडब्लू वृद्धिले नेपाल ल्याएको चांगन चीनमा चल्तीको ब्राण्ड हो । कम्पनीले अहिले एल्सभीन सेडान र हन्टर पीकअप ल्याएर विक्री सुरु गरेको छ । कम्पनीले काठमाडौंको नक्सालमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर आफ्नो विक्री सुरु गरेको छ । कम्पनीले अन्य मोडल पनि क्रमिक रुपमा ल्याउने बताउँदै आएको छ । यस्तोमा चांगनले विद्युतीय गाडीमा कस्तो उत्पादन ल्याएको छ भन्ने महत्वपूर्ण हुन्छ ।
चिनियाँ बजारमा सिएस १५ एसयूभी, इडो प्लगइन हाइब्रिड सेडान, इडो फुल इभी सेडान, बीनी इभी ३६० र बीनी इसी २६० ह्याचव्याक मोडल विक्री गर्दै आएको छ । यी सबै गाडी अहिले राइड ह्याण्ड ड्राइभ सिस्टममा उपलब्ध छैनन् । त्यसैले तत्काल नेपाल आउने छैनन् ।

चांगनले सन् २०१८ मा बजारमा उतारेको इभी ३६० चिनियाँ बजारमा राम्रो संख्यामा विक्री भइरहेको मोडल हो । कम्पनीले यसलाई सन् २०२० मा परिमार्जन सहित ल्याएको थियो ।
निकै कम्प्याक्ट साइजमा रहेको यो ह्याचव्याकको लम्बाई ३३७०, चौडाई १६५० र उचाई १५३० एमएम रहेको छ । यसको ह्वीलवेस भने २४१० एमएम छ । चांगनले यसमा दिएको ३२.२ किलोवाट आवर क्षमताको व्याट्रीले एक पटकको फुल चार्जमा ३६० किलोमिटर रेन्ज दिने दावी सहित यसको नाममा इभी ३६० जोडिएको हो ।
यसमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसको पावर ७४ हर्सपावर र टर्क १७० एनएम रहेको छ । सानो सिटी कार खोज्नेको लागि यो उत्कृष्ट इलेक्ट्रीक ह्याचव्याक हुन सक्छ ।


