३५० रुपैयाँको इन्धनमा २१२ किलोमिटर यात्रा

काठमाडौं । विद्युतीय सवारीसाधन अहिले बजारमा सर्वाधिक चर्चामा रहँदै आएको छ । त्यसको मुख्य–कारण सरकारले लिने थोरै राजस्व र कम संचालन खर्च हो । भन्दा धेरैले पत्याउँदैनन्, यथार्थमा विद्युतीय गाडी चलाउन सजिलो र सस्तो यात्राको लागि परिचत हुँदै गएको छ ।

गत शनिबार मेरोअटो टीमले बीवाइडी ई-सिक्सको टेष्ट ड्राइभ गर्ने निधो गर्यो । हामीले काठमाडौंबाट मूलकोटसम्म यसलाई चलाउने योजना बनायौं । आगामी वैशाख ९ गते काठमाडौंबाट मूलकोटसम्म मोटर र्‍याली आयोजना गर्ने तयारी गरेको हाम्रो टोली मूलकोट पुगेको थियो ।

हाम्रो टीममा ४ जना थियौं । सधैं कम्बस्चन गाडी चलाउने मैले केही दिनअघि मात्रै पनि काठमाडौंदेखि मूलकोटसम्म एमजी जेडएस ईभी चलाएको थिएँ । त्यतिबेला एमजीको पावर, लुक्स र ड्राइभिङ प्लेजरले कायल बनाएको थियो । त्यही भएर मैले नै गाडी चलाएर जाने निधो गरें ।

करिब बिहान ९ बजे सुरू भएको हाम्रो यात्रा काठमाडौंको थली, चाबहिल, तीनकुने, कोटेश्वर हुँदै धुलिखेलमा पुगेर रोकियो । घरबाट हिँड्दा ४६४ किलोमिटर रेन्ज देखाएको गाडीले धुलिखेल पुग्दा ४१४ मा झरेको थियो । गाडीमा ४ जना भएका कारण पूरै समय एसी चलाएका थियौं । यस बीचमा ५० किमी यात्रा गर्न पुग्ने चार्ज खर्च गरेर ३८ किलोमिटर यात्रा गरेका थियौं ।

धुलिखेलमा करिब १ घन्टा रोकिएपछि हाम्रो यात्रा मूलकोटतर्फ सोझियो । धुलिखेलदेखि मूलकोटको ६८ किलोमिटर यात्रा अधिकांश ओरालो बाटो भएको कारण मूलकोट पुग्दा पनि ४०४ किलोमिटर रेन्ज बाँकी थियो । मूलकोटबाट फर्कदा भने पूरै उकालो थियो, जसको कारण इनर्जी खपत धेरै भयो । मूलकोटबाट हिँड्दा ४०४ किलोमिटर रेन्ज बाँकी रहेको गाडीमा काठमाडाैं थली आइपुग्दा २२० किलोमिटर रेन्ज बाँकी रहेको थियो । फर्कदा पूरै उकालो र गर्मीको कारण पूरै समय एसी चलाउनु परेको कारण करिब १८४ किलोमिटर गुडाउन पुग्ने इनर्जी १०६ किलोमिटरमा खर्च भयो ।

समग्रमा २४४ किलोमिटर चलाउन पुग्ने इनर्जीले २१२ किलोमिटर यात्रातय–गरियो । जुन कम्पनीले दाबी गरेभन्दा १३ प्रतिशतले कम हो । आइडियल कन्डिसनमा गरिएको परीक्षण र सडकमा गरिएको परीक्षणमा यति मात्र कम हुनु उत्कृष्ट मान्न सकिन्छ । जहाँ एसीले उक्त परिमाणमा इनर्जी खपत गरेको भन्दा फरक पर्दैन ।

यो गाडी चलाएपछि मेरो निष्कर्ष सडकको अवस्था र चालकको सुझबुझले नै ईभीको रेन्जमा व्यापक परिवर्तन ल्याउन सकिन्छ । त्यसैले गाडी विक्रेता कम्पनीहरूले ईभी चालकलाई प्रशिक्षण दिएर मात्रै गाडी दिने हो भने रेन्जको गुनासा कम आउने देखिन्छ ।

अहिलेसम्म हामीले बीवाइडी ई-सिक्सको रेन्जको विषयमा मात्रै कुरा गरेका थियौं । यसलाई चलाउँदाको अनुभव पनि उत्कृष्ट रह्यो । गाडीमा म लगायत अन्य दुई जना करिब ८० किलोग्राम हाराहारीका थियौं भने एकजना ६० किलोग्राम हाराहारीको मित्र थिए । यसको मतलब गाडीमा ३०० केजीभन्दा बढी तौल थियो । यो तौलले गाडीको पर्फमेन्समा फरक पारेन ।

बीवाइडी ई-सिक्सको बाहिरी बनोट

लामो, फराकिलो र स्टाइलिस फ्रन्ट फेसिका रहेको ई-सिक्सको अगाडि बीच भागमा दिइएको ‘ब्यूल्ड योर ड्रिम’को छोटकरी बीवाइडी नामको लागोले धेरैलाई आकर्षित गर्न सक्छ ।

रेगुलर कारको जस्तै देखिनेगरी तयार पारिएको फ्रन्ट ग्रिल, ड्रागन फेस डिजाइन ल्याङ्ग्वेज, १७ इन्चको फाइभ स्पोक अलोई–ह्वील, एलइडी डे टाइम रनिङ लाइट सहितको स्वीफ्ट ब्याक प्रोजेक्टर हेडल्याम्प, आकर्षक एलइडी टेलल्याम्प जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

इन्टेरियरमा के छ ?

सामान्य लाग्ने स्लीकर ड्यासबोर्डको बीच भागमा १०.१ इन्चको फ्री स्ट्याण्डिङ टच स्कृन दिइएको छ । आफ्नो सहजता अनुसार भर्टिकल र हाेरिजेन्टल मिलाउन मिल्ने भएकोले यसलाई चालक अनुकूल मान्न सकिन्छ । क्लाइमेट कन्ट्रोल बटमहरू सबै टचस्कृनमै रहेको छ ।

सेन्ट्रल कन्सोलमा भने केही बटमहरू दिइएको छ । त्यहाँ ड्राइभ मोड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, हाजार्ड लाइट जस्ता बटमहरू उपलब्ध छन् । त्यसैगरी ड्राइभरलाई सूचना दिन ५ इन्चको कलर डिस्प्ले यूनिट दिइएको छ ।

टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ, स्टेरिङ माउन्ट मिडिया कन्ट्रोल बटम, किलेस इन्ट्री, टायर प्रेसर मोनिटर, एन ९५ मास्कलेझै प्रोटेक्सन गर्न सक्नेसम्मको एयर फिल्टर, रियर पार्किङ क्यामेरा जस्ता फिचर पाउन सकिन्छ । निकै पराकिलो क्याबिन, पछाडि बस्नेको लागि पनि एसी भेन्ट, पछाडिका प्यासेन्जरको लागि पनि अनिवार्य सिटबेल्ट जस्ता फिचर यसमा पाउन सकिन्छ । तर, पछाडि आर्मरेष्ट नदिदा दुई जना मात्रै यात्रा गर्दा केही खल्लो महशुस हुन्छ ।

ब्याट्री र मोटर

बीवाइडीको लेटेस्ट टेक्नोलोजी ब्लेडमा आधारित ब्याट्री यसमा उपलब्ध रहेको छ । यसलाई विश्वकै सर्वाधिक सुरक्षित ब्याट्री मध्य एक मान्ने गरिन्छ । टोयोटादेखि टेस्लासम्मका कम्पनीले अहिले बीवाइडीको ब्लेड ब्याट्री प्रयोग सुरू गरेका छन् ।

ई-सिक्समा ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । कम्पनीले यसमा केबल ७० किलोवाट क्षमताको मोटर दिएको छ । त्यही कारण हामीले माथि उल्लेख गरेजस्तो धेरै रेन्ज यसले दिन्छ । कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष र मोटरमा पनि ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

साइज

ई-सिक्स निकै लामो गाडी हो । यसको लम्बाइ ४६९५ एमएम, चौडाइ १८१० एमएम र उचाइ १६७० एमएम रहेको छ । साथै, यसमा २८०० एमएमको ह्वीलबेस, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

निष्कर्ष

सन् २०२१ बाट नेपाली बजारमा आएको नयाँ बीवाइडी ई-सिक्स ५७ लाख ५० हजार मूल्य तोकेर विक्री हुँदै आएको गाडी हो । ५ जना यात्रुले राम्रोसँग यात्रा गर्न मिल्ने ई-सिक्समा निकै ठूलो बुट स्पेश पाउन सकिन्छ ।

फराकिलो क्याबिन, चलाउन निकै सजिलो र उत्कृष्ट रेन्ज नै यसको बलियो पक्ष हो । एउटा गाडीमा हुनु पर्ने सुरक्षाका फिचर उपलब्ध ई-सिक्स लामो यात्रा गर्ने मानिसको पहिलो रोजाइमा पर्न सक्छ ।

अहिले ईभीको माग अनुसार आपूर्ति हुन नसकिरहेको समयमा बीवाइडीले यसको विक्री वितरण गर्दै आएको छ । त्यो आफैंमा उसको बलियो पक्ष हो । साथै, ब्याट्री, मोटर, वायर, ब्याट्री मेनेजमेन्ट सिस्टम लगाएत अधिकांश कम्पोनेन्ट बीवाइडी आफैँ उत्पादन गर्ने भएकोले पनि उसको सप्लाइमा समेत समस्या नरहेको आधिकारिक विक्रेताको भनाइ छ ।


Back_to_top