यी हुन् इलेक्ट्रीक ट्याक्सीमा प्रयोग हुने सम्भावित मोडल

काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय ट्याक्सीको मापदण्ड तोकेसँगै विभिन्न कम्पनीसँग उपलब्ध रहेका गाडी मध्ये ट्याक्सीमा प्रयोग हुन सक्ने मोडलको विषयमा चर्चा सुरु भएको छ ।

बागमती प्रदेश सरकारले उपत्यकामा दर्ता हुने नयाँ ट्याक्सी विद्युतीय मात्रै हुने घोषणा गर्दै ट्याक्सीको मापदण्ड बनाएसँगै बजारमा उपलब्ध मोडल कुन कुन छन् भन्ने चर्चा सुरु भएको छ ।

प्रदेश सरकारले बनाएको नयाँ मापदण्ड अनुसार ट्याक्सीलाई दुई किसिमले ब्याख्या गरिएको छ । एउटा साधारण र अर्को डिलक्स ट्याक्सी भनेर बर्गिकरण गरिएको छ । साधारण ट्याक्सी र डिलक्स ट्याक्सीको भाडादर पनि फरक कायम हुनेछ भने डिलक्स थप प्रिमियम हुनेछ ।

विशेषत ब्याट्री, मोटर र रेन्जलाई ध्यानमा राखेर बर्गिकरण गरिएको छ । साथै, बुट स्पेश, बडी डिजाइनलाई पनि आधार बनाईको छ । सामान्य ट्याक्सीमा २०० लिटरको बुट स्पेश, ३० किलोवाटको मोटर, २० किलोवाट आवरको लिथियम आयोन ब्याट्री र कम्तीमा २१० किलोमिटर रेन्ज हुनु पर्ने भनिएको छ भने बडी स्टाइल सेडान हुनु पर्नेछ ।

त्यसैगरी मापदण्डले डिलक्स ट्याक्सीमा २५० लिटरको बुट स्पेश, ५० किलोवाटको मोटर, ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री, २५० किलोमिटर माथि रेन्ज र सेडान वा भ्यान डिजाइनको बडी हुनु पर्ने उल्लेख छ । डिलक्स ट्याक्सी ५ र ७ सिट अप्सनमा हुन सक्ने उल्लेख छ ।

नयाँ मापदण्डमा अर्को महत्वपूर्ण विषय ग्राउन्ड क्लियरेन्सको विषय खुलाईएको छ । साधारण ट्याक्सीको ग्राउन्ड क्लियरेन्स १७० एमएम र डिलक्स ट्याक्सीको १७५ एमएम हुनु पर्नेछ ।

मापदण्डमा मिल्ने मोडल कुन कुन होलान् ?

अहिले सरकारले ल्याएको मापदण्डमा मिल्ने मोडल एकदम कम छन् । विशेषत बडी डिजाइन सेडान भनेको कारण महिन्द्राको इभेरिटो, टाटाको टिगोर र बीवाइडीको एम थ्री रहेका छन् । यी तीन मोडलको अलावा टाटाले एसप्रेस–टी मोडल ल्याउन सक्छ ।

बजारमा उपलब्ध टाटा टिगोर ट्याक्सीको लागि सबैभन्दा उपयुक्त मोडल रहेको छ । टाटाले टिगोर इभीमा ५५ किलोवाटको मोटर, २६ किलोवाट आवरको ब्याट्री, १७२ एमएमको ग्राउन्ड क्लियरेन्स, ३०० किलोमिटर रेन्ज, ३१६ लिटरको बुट स्पेश पाउन सकिन्छ । यसमा सरकारले तोकेको सबै मापदण्ड पुरा हुने देखिन्छ ।

अहिले टिगोरको एक्सएम भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

महिन्द्राको इभेरिटोले पनि अधिकांश मापदण्ड पुरा गरेको भएपनि एउटा रेन्ज तोकिएभन्दा कम रहेको छ । त्यसैले तत्काल महिन्द्राको इभेरिटो ट्याक्सीमा आउने सम्भावना छैन ।

बीवाइडी एम थ्री डिलक्स ट्याक्सीको लागि उपयुक्त मोडल हो । कम्पनीले यसमा ४४.९ किलोवाट आवरको ब्याट्री, २७५ किलेमिटर रेन्ज, १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १०० किलोवाट क्षमताको मोटर रहेको छ । यसको मूल्य ४० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

टाटाले पनि अहिले बजारमा रहेको टिगोर इभीको सट्टामा एसप्रेस–टी मोडल ल्याउन सक्ने देखिन्छ । यी ब्राण्डका अलावा केही चाइनिज ब्राण्डले इलेक्ट्रीक ट्याक्सीमा प्रयोग गर्न भन्दै नयाँ मोडल ल्याउन सक्ने देखिएको छ ।


Back_to_top