अस्ट्रियाको टु–ह्वीलर निर्माण कम्पनी केटीएमले आफ्नो प्रख्यात मोटरसाइकल केटीएम ड्यूक–३९० लाई भारतबाट फिर्ता बोलाएको छ ।
कम्पनीले २०१७ र २०१८ मा उत्पादन भएका ड्यूक–३९० खरिद गर्ने सम्पूर्ण ग्राहकबाट मोटरसाइकल फिर्ता लिएको पाइएको छ । ग्राहकको धेरै गुनासो आएपछि कम्पनीले उक्त निर्णय गरेको हो ।
रिकलपश्चात् बाइकको केही भाग परीक्षण गर्ने र आवश्यक परे पार्टस् नै परिवर्तन गर्ने कम्पनीले जनाएको छ ।
नयाँ ईसीयू ब्राकेट तथा सिटको ड्यापबूसको परीक्षण गरि चेञ्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । अधिकांश ग्राहकबाट हेडल्याम्प्स भाइबे्रसनको गुनासोसमेत आएकोले त्यसको पनि परीक्षण गरिने कम्पनीले जनाएको छ ।
टीएफटी डिस्प्ले रिस्टार्ट भैरहनु, हेडलाइट बन्द हुनु, अचानक एलईडी लाइट बन्द हुनु, फ्यूललिंकेज हुनुकासाथै ब्याट्री नटिक्नुलगायतका समस्या आएकोले बाइक नै फिर्ता बोलाउनु परेको कम्पनीले जनाएको छ ।
केटीएम ड्यूक–३९० मा राखिएको सफ्टवेयरलाई ग्राहकको आवश्यकताअनुसार अपडेट गरिने कम्पनीले जनाएको छ । कम्पनीले सम्पूर्ण परीक्षण, जाँच तथा पार्टस् परिवर्तन निःशुल्क गरिएको जानकारी दिएको छ ।
अब ड्यापिङ्ग बूसलाई री–डिजाइन गर्नुकासाथै पछाडिको सिट तथा टेल–लाइटमा ग्याप छोड्ने कम्पनीले जनाएको छ । बाइकको पछाडि अर्को मानिस बस्दा राइडिङ्गका समयमा समस्या आएको ग्राहकले गुनासो गरेका थिए ।
कम्पनीले ग्राहकको समस्यालाई सकारात्मकरुपमा लिएर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यस मोटरसाइकलमा ३७३ सीसी क्षमताको लिक्विड कुल्ड सिङ्गल सिलिन्डर इञ्जिन दिइएको छ । जसले ४४ बीएचपी पावरकासाथै ३७ न्यूटन मिटर टर्क उत्पादन गर्छ । यसको इञ्जिनमा ६ स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।
यसको फ्रन्टमा ३२० मिलिमिटर र रियरमा २३० मिलिमिटरको डिस्कब्रेक लगाइएको छ ।


