काठमाडौं । यातायात कार्यालयबाट प्रदान गर्ने सेवा चुस्त बनाउन बागमती प्रदेश सरकारले बिहान ७ बजेबाटै यातायात कार्यालय खोल्न थालिएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अग्रसरतामा यातायात कार्यालय विहान खोल्न थालिएको हो ।
आज साउन २२ गतेबाट उपत्यकाका ठूलोभर्याङ, जगाति र हेटौंडा यातायात कार्यालय विहान ७ बजेबाट खुल्न थालेका छन् । यसका साथै चाँडै नै उपत्यकाको चावहिल र एकान्तकुना कार्यालय पनि विहान ७ बजेबाट खोल्ने तयारी भइरहेको छ ।
साथै, बागमती प्रदेश भित्रका धेरै जिल्लाका मानिस लाइसेन्स लिनको लागि उपत्यका आउनु पर्ने अवस्था विद्यमान रहेको भन्दै उपत्यका बाहिरका जिल्लाबाट लाइसेन्स वितरण कार्यालय खोल्न लागिएको प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
अब काम विशेषले छिटो लाइसेन्स चाहिने मानिसलाई लिखित परिक्षा र ट्रायल गराएर तीन दिनपछि लाइसेन्स दिन सकिनेगरी काम अगाडि बढाइएको प्रदेश यातायात मन्त्रालयले जनाएको छ । विहानैबाट यातायात कार्यालय खुल्दा सेवाग्राहीलाई निकै सहज भइरहेको छ ।


