काठमाडौं । सरकारले विगत ८ महिनादेखि घोषित र अघोषित रुपमा गरेको आयात प्रतिबन्धको कारण नेपाल आउन तयार भएपनि आउन नसकेको कार मोडलको संख्या १५ माथि पुगेको छ ।
विगत एक वर्षमा भारतीय बजारमा विक्री सुरु भएका कुनै पनि नयाँ मोडल नेपाल आउन सकेको छैन । अहिलेसम्मको अवस्थामा सबैभन्दा धेरै मोडल नेपाल आउन नपाएको ब्राण्ड महिन्द्राको हो । महिन्द्राले आयात खुल्ला भएको खण्डमा ४ नयाँ मोडल नेपाल ल्याउने छ ।

महिन्द्राले भारतमा विक्री गर्दै आएको बोलेरो नियो, एक्सयूभी ७००, थार र स्कर्पियो एन मोडल नेपाल ल्याउन पाएको छैन । यी मध्ये थार आयात खुल्ला भएपनि तत्काल आउनेमा शंका भएपनि अन्य सबै मोडल नेपाल आउने छन् ।
महिन्द्रापछि अर्को धेरै मोडल नेपाल ल्याउने तयारीमा रहेको ब्राण्ड हो मारुती सुजुकी । मारुती सुजुकीले भारतमा विक्री गर्दै आएको नयाँ जेनेरेशन बलेनाे, नयाँ जेनेरेशन ब्रेजा र अल न्यू ग्राण्ड भिटारा नेपाल ल्याउन पाएको छैन । यी तीन वटै मोडल कम्पनीले आयत खुल्ला हुने वित्तिकै नेपाल ल्याउने छ ।

त्यसपछि हुन्डाईले नयाँ फेसलिफ्ट भेन्यू, कियाले कारेन्स, टाटाले पन्च, स्कोडाले स्लाभिया, जीपले म्यारिडियन, एमजीले एस्टर, सिट्रोनले सि थ्री र फक्सवागेनले भर्टुस मोडल ल्याउने तयारी गरेका छन् ।

यी बाहेक पनि अन्य केही ब्राण्डले नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेका छन् । जसमा बीएमडब्लू, डिएफएसके, होन्डा, चेरी, फोर्ड, ग्रेटवाल लगायतका ब्राण्डले पनि नयाँ मोडल बजारमा ल्याउने तयारी गरेका छन् ।

कम्पनीहरुले तयारी गरेपनि सरकारले आयात प्रतिबन्ध लगाएको र बैंकले गाडी किन्नेहरुलाई सहज कर्जा उपलब्ध नगराएको कारण अटोमोवाइल्स ब्यबसाय निकै सुस्त भएको छ ।
अहिले रोकिएका विभिन्न ब्राण्डका नयाँ मोडल कुन मितिबाट नेपाल आउन थाल्नेछन् भन्ने एकिन भएको छैन ।

