काठमाडौं । बेनेली ब्रान्डको एकमात्र स्कुटर प्यानेरीया नेपालमा विक्री सुरु भएको एक वर्ष पुरा भएको छ । १२५ सीसी सेग्मेन्टको यो स्कुटरले सोचेजस्तो विक्री भने पाउन सकेको छैन ।
प्रिमियम स्कुटर सेग्मेन्टमा रहेको अप्रियला, भेष्पा, टीभीएस र होन्डाका स्कुटरसँग प्रतिस्पर्धा गर्नु परेका कारण यसको विक्री अपेक्षाभन्दा कम देखिएको हो ।
बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारीक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले २०२१ को डिसेम्वरमा सार्वजनिक गरेको स्कुटर हालसम्म ३०० यूनिट हाराहारीमा मात्र आयात भएको छ ।
प्रिमियम डिजाइन भएको यो रेट्रो स्कुटरको मूल्य अन्य प्रतिस्पर्धी स्कुटरको भन्दा केही धेरै छ । कम्पनीले सार्वजनिक गरेका मूल्यमा नै अहिले पनि स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले यो स्कुटरको मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको थियो ।
बेनेली प्यानेरीयामा १२५ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम ८.५ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा अधिकतम ९.२ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा छ ।
बेनेलीले यो स्कुटरमा १२ इन्चको अलोय ह्वील दिएको छ । यसको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध छ । बेनेली प्यानेरिया स्कुटर ब्लु, ब्ल्याक, यल्लो र ह्वाइट गरी चार कलर भेरियन्टमा उपलब्ध रहेको छ ।

