लेक्ससको दुई इलेक्ट्रीक प्रिमियम कार, रेन्ज ६०० किमिसम्म

काठमाडौं । अटो एक्स्पो २०२३ सुरु भएको ४ दिन भइसकेको छ । विश्वकै सातौं ठूूलो कार तथा मोटरसाइकल एक्स्पो भनेर चिनिने अटो एक्स्पोमा विभिन्न नयाँ मोडलका कार र कन्सेप्टहरु सार्वजनिक भएका थिए ।

अटो एक्स्पोमा टाटा, मारुती सुजुकी, टोयोटा, लेक्सस, हुन्डाई, किया, बीवाइडी, एमजी जस्ता ब्राण्डले आक्रमक रुपमा नयाँ गाडी सार्वजनिक गरे । अटो एक्स्पोमा सार्वजनिक भएका कन्सेप्ट मध्ये टोयोटाको एलएफ ३० र एलएफ जेड दुई मोडलको चर्चा निकै धेरै सुनिन्छ ।

जापानी कम्पनीले भारतमा प्रदर्शन गरेको यी दुई मोडल हेर्दा निकै आकर्षक छन् भने आधुनिक फिचरको बेजोड मिश्रण रहेको छ ।

एलएफ ३०

लेक्ससले देखाएको एलएफ ३० मा सबै अत्याधुनिक फिचर दिइएको छ । यसको क्याविन कुनै किसिमको बाहिरी आवाज नआउने गरी डिजाइन गरिएको छ । लेक्ससले यसलाई लग्जरी बनाउनकै लागि प्यासेन्जर भ्यावइस कन्ट्रोल फिचर समेत दिएको हो ।

अल ह्वील ड्राइभ सिस्टममा आउने एलएफ कन्सेप्टमा चारवटै चक्कामा मोटर दिइएको छ । यी चारवटै मोटरको कम्वाइन पावर ३८५ किलोवाट अर्थात् ५२५ पीएस रहेको छ । यसको टर्क भने ७०० एनएम रहेको छ ।

लेक्ससले यसमा ११० किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रदान गरेको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यसले १५० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्नेछ ।

चार सेकेन्डभन्दा कम समयमा नै १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने एलएफ ३० को टप स्पीड २०० किलोमिटर प्रतिघन्टा रहेको छ । यसलाई वायरलेस चार्जरबाट पनि चार्ज गर्न सकिन्छ ।

लेक्सस एलएफ जेड

लेक्ससले धेरै प्राविधिक कुराहरु एलएफ ३० बाटै लिएर तयार पारेको एलएफ जेड मोडल डिजाइन हिसावले भने निकै फरक रहेको छ । कम्पनीले यसमा मार्क लिभेन्सनको साउन्ड सिस्टम दिएको छ ।

यसमा कम्पनीले ड्यूल मोटर प्रयोग गरेर अल ह्वील ड्राइभ सिस्टम दिएको छ । यी दुबै मोटरको कम्वाइन पावर भने ४०० किलोवाट अर्थात् ५४४ पीएस रहेको छ । यसको स्पीड एलएफ ३० को तुलनामा छिटो छ ।

तीन सेकेन्डमा नै १०० किलोमिटरको उच्च गति पाउन सक्ने एलएफ जेड मोडलमा ९० किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसको डब्लूएलटीपी रेन्ज भने ६०० किलोमिटर रहेको कम्पनीले जानकारी दिएको छ ।


Back_to_top