काठमाडौं । चेक ब्राण्ड स्कोडाले विश्वभर सन् २०२२ मा ७ लाख ३१ हजार ३०० यूनिट कार विक्री गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १६.७ प्रतिशत कार कम विक्री गरेको हो ।
सन् २०२१ मा ८ लाख ७८ हजार २०० यूनिट कार विक्री गरेको स्कोडाले सन् २०२२ मा १ लाख ४६ हजार ९०० यूनिट कम कार विक्री गरेको हो । कम्पनीको विक्री दक्षिण एसियामा मात्रै वृद्धि भएको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
पश्चिम यूरोपमा ३ लाख ७७ हजार यूनिट कार विक्री हुँदा ७.८ प्रतिशतले विक्री घटेको छ । त्यसैगरी मध्य यूरोपमा १ लाख ४८ हजार यूनिट कार विक्री भएको छ । त्यहाँपनि ९.८ प्रतिशतले विक्री घट्दा पूर्वि यूरोपमा ११.९ प्रतिशतले विक्री घटेको हो । पूर्वी यूरोपमा ३१ हजार ६०० यूनिट स्कोडाका कार विक्री भएका छन् ।
स्कोडाले सबैभन्दा धेरै बजार गुमाएको देश रसिया हो । कम्पनीले यहाँ ३७.४ प्रतिशतले बजार गुमाएको छ । सन् २०२१ मा ७१ हजार २०० यूनिट कार विक्री भएको रसियामा सन् २०२२ मा ४४ हजार ६०० यूनिट कार विक्री गरेको हो ।
स्कोडाको लागि भारतीय बजार निकै राम्रो भयो । कम्पनीले भारतमा १२७ प्रतिशतले विक्री बढाउन सफल भएको हो । कम्पनीले २०२१ मा २२ हजार ८०० यूनिट कार विक्री गरेको थियो । तर, २०२२ मा ५१ हजार ९०० यूनिट विक्री गर्दै बजार बढाउन सफल भएको हो ।
नेपालमा पनि स्कोडाको कुशक निकै राम्रो विक्री भएको मोडल हो ।

