काठमाडौं । पछिल्लो समय निरन्तर सफलताको स्वाद चाखिरहेको सब फोर मिटर एसयूभी टाटा नेक्सनको फेसलिफ्ट आउने भएको छ । कम्पनीले भारतको विभिन्न सडकमा यसको परिक्षण सुरु गरेसँगै फेसलिफ्ट मोडलको चर्चा सुर भएको हो ।
सन् २०१७ मा पहिलो पटक बजारमा आएको नेक्सनलाई सन् २०२० मा धेरै परिमार्जन गरेर ल्याइएको थियो । टाटाको प्यासेन्जर सेग्मेन्टमा निरन्तर उत्कुष्ट बिक्री संख्या दिन सफल नेक्सन ग्लोबल एनक्याप क्रयास टेस्टमा ५ स्टार रेटिङ पाउने भारतीय ब्राण्डको पहिलो कार समेत हो ।
टाटाले नेक्सन फेसलिफ्टमा इन्टेरियर र एक्टेरियरमा निकै परिवर्तन गर्ने अनुमान गरिएको छ । सार्वजनिक भएको तस्विर अनुसार यसको फ्रन्ट फेसिया टाटाको नयाँ कन्सेप्ट कर्भबाट निकै प्रभावित भएको अनुमान गर्न सकिन्छ ।
फेसलिफ्ट नेक्सनको फ्रन्टमा नयाँ हेडल्याम्प पोजीसन, नयाँ डिजाइनको बम्पर तथा राइट लेफ्ट कनेक्टेड एलइडी डेटाइम रनिङ लाइट हुनेछ ।
यसको साइडमा नयाँ डिजाइनको अलोय ह्वील, रिभाइज्ड टेलल्याम्प तथा टेलगेट, अपडेटेड रियर बम्परको साथ आउने अनुमान गरिएको छ ।
यसको एक्टेरियरमा जस्तै इन्टेरियरमा पनि अपडेटेड सेन्टर कन्सोलको साथै धेरैवटा एड्भान्स फिचरहरु थपिने आँकलन गर्न सकिन्छ । नयाँ डिजाइनको डिजिटल कन्सोल, नयाँ युजर इन्टरफेस सहितको ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम यसमा उपलब्ध हुनेछ ।
नेक्सनको नयाँ फेसलिफ्टमा इन्जिन भने परिवर्तन हुनेछैन । नेक्सनमा अहिले १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटरको डिजेल इन्जिन उपलब्ध छ ।

