काठमाडौं । बेलायती लग्जरी कार ब्राण्ड रोल्स रोयस कार संसारकै सबैभन्दा धेरै कलरमा उपलब्ध छ । रोल्स रोयस कार किन्न चाहनेले ४४ हजार बढी कलर अप्सन पाउने छन् ।
रोल्स रोयसले कारहरू हरेक व्यक्तिले चाहेको डिजाइन र कलरमा बनाइदिने भएकाले यति धेरै कलरमा उपलब्ध हुने भएको हो । ग्राहकले दिएको कस्टम कलर र डिजाइन ग्राहकको अनुमति बिना कम्पनीले अरु कारमा प्रयोग गर्न नपाउने हुन्छ । यो नियम रोल्स रोयस कम्पनी आफैंले बनाएको हो ।
रोल्स रोयस १०० वर्षभन्दा पुरानो अटो ब्राण्ड हो । यो संसारकै सानदार, लग्जरियस र महँगो कार बनाउने कम्पनीको रुपमा परिचित छ । यसले उत्पादन गरेका कारको सुरुआती मूल्य नै ३ लाख अमेरिकन डलर रहेको छ ।
रोल्स रोयस कारको भित्रि तथा बाहिरी आवरणमा सुन, चाँदी, क्रिस्टल लगायत मेटलहरू प्रयोग गरिने हुनाले यो धेरै महँगो हुने गर्दछ । साथै, यसको ड्यास बोर्डमा काठको समेत प्रयोग गरिएको हुन्छ ।

प्रायजसोः सेलिब्रेटी, बिजनेस म्यान, खेलाडी लगायतका धनाढ्य व्यक्तिहरूले मात्रै चढ्ने यो कार सामान्य मान्छेका लागि भने सपना जस्तै बन्ने गरेको छ ।
रोल्स रोयसका कारहरू ग्राहकले अर्डर गरेपछि ग्राहकले दिएको डिजाइन अनुसार कालिगढहरूले पूरै ह्यान्डिक्राफ्ट (हात) को माध्यमबाट तयार गर्छन् । यसको इन्जिन र रेडिएटर समेत हातले बनाइन्छ ।
कारको रुफमा कस्टमाइजेसन स्पेक्टचर (तारा) लाइट प्रयोग गरिएको हुन्छ, जसले आकाशमा भएका ताराहरू जस्तै अनुभव गराउँछ ।

कारको बाहिरी लुक्स पनि भित्रि बनावट जस्तै आकर्षक बनाइएको हुन्छ । यसमा बाहिरको हल्ला भित्र नजाने, रोडमा टायरको मात्र मुभमेन्ट हुने कारणले कार नहल्लिने, आरामको लागि सेल्फ लेवलिङ एयर सस्पेन्सन, इन्सुलेसन क्याबिन, पिकनिक ह्याम्पर्स, ह्वीस्की क्याबिनेट, हिडन ज्वेलरी सेफ, रेफ्रिजेरेटर जस्ता फिचरहरू रहेका छन् ।

