काठमाडौं । फ्रेन्च अटोमोबाइल ब्रान्ड सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री मोडलले वर्ष २०२३को वर्ल्ड अर्बन कार अवार्ड जितेको छ । यो अवार्ड न्यू योर्क इन्टरनेसनल अटो शोमा दिइएको हो ।
वर्ल्ड अर्बन कार अवार्डका लागि ३२ देशका १०० जना अटो पत्रकारसहितको निर्णायक समितिले भोट गरेका थिए । यस कार अवार्डका लागि योग्य हुन सवारी कम्पनीले वार्षिक रूपमा कम्तीमा ५ हजार युनिट गाडी उत्पादन गरेको हुनपर्ने मापदण्ड थियो ।
त्यस्तै, ब्रान्डको गाडी कम्तीमा दुई वटा कन्टिनेन्टमा रहेका ठूला बजार अर्थात् चीन, युरोप, भारत, जापान, कोरिया, ल्याटिन अमेरिका, संयुक्त राज्य अमेरिकामा १ जनवरी २०२२ देखि २० मार्च २०२३ को अवधिमा विक्री वितरण भएको हुनपर्ने नियम थियो ।
यस अवार्डका लागि सहभागिता जनाउने गाडीको लम्बाइ समग्रमा ४.२५ मिटर हुनुपर्छ र सार्वजनिक सडकमा सञ्चालनको लागि अनुमति प्राप्त भएको हुन पर्दछ।
यस्तो छ सिट्रोन सीथ्री
सिट्रोन सीथ्री हाल भारतमा दुई इन्जिन अप्सन र ६ भेरियन्टमा विक्री वितरण हुँदै आएको छ । सिट्रोनले आफ्नो सब फोर मिटर कारलाई १.२ लिटर नेचुरल्ली एस्पिरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिनमा ल्याएको छ । टर्बो इन्जिनमा एउटा मात्रै ‘फिल ड्यूलटोन भाइब’ भेरियन्ट सार्वजनिक गरेको छ । भारतमा यसको एक्स शोरुम मूल्य ८ लाख ५ हजार ५०० भारतीय रुपैयाँ तोकिएको छ ।
सीथ्रीको इन्ट्री लेभल भेरियन्ट लाइभ हो । त्यसपछि ‘फिल’भेरियन्ट हो । फिल भित्र भाइब, फिल ड्यूल टोन, फिल ड्यूलटोन भाइब भेरियन्ट उपलब्ध रहेको छ ।
सिट्रोनले दिएको १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी, १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
यसमा स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील पाउन सकिन्छ ।
सीथ्रीको क्याबिनमा १० इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्ट्याण्डर्ड रूपमा आउने छन् ।

