काठमाडौं । विद्युतीय कारको विकाससँगै प्रतिस्पर्धी मूल्यमा ईभीहरु उपलब्ध हुन थालेका छन् । चिनियाँ कम्पनी जिली होल्डीङको प्रिमियम इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने जिकर ब्राण्डले नयाँ एसयूभी ल्याएको हो ।
जिलीको सस्टेनेवल इलेक्ट्रीक आर्किटेक्चरमा तयार भएको जिकर एक्समा सिंगल मोटर्स र डबल मोटर्सगरी दुई अप्सनमा उपलब्ध हुनेछ । यसको विक्री आगामी महिनाबाट सुरु हुने बताइएको छ । जिकरले एक्स मोडलको लागि आफ्नै सिलिकन कारवाइड टेक्नोलोजीमा आधारित ब्याट्री उत्पादन गरेर प्रयोग गरेको हो ।
निकै पावरफुल मोटर दिइएको जिकर एक्सको रियर ह्वील ड्राइभ मोडलमा २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध हुनेछ । उक्त मोडलले सून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको स्पीड केबल ५.८ सेकेन्डमा भेट्टाउने छ । ६६ किलोवाट आवर क्षमताको ब्याट्री रहेको कारण यसले सिंगल चार्जमा ५६० किलोमिटर रेन्ज दिने सिएलटीसी परिक्षणमा देखिएको छ ।
त्यसैगरी, यसको अल ह्वील ड्राइभ मोडलमा पनि समान ६६ किलोवाट आवरको ब्याट्री नै दिइएको छ । ३१५ किलोवाट क्षमताको मोटर रहेको कारण यसले सून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको स्पीड ३.७ सेकेन्डमा पुरा गर्नेछ । यसको सिंगल चार्ज रेन्ज भने ५१२ किलोमिटर मात्रै छ ।

जिकर कम्पनीका अनुसार ‘एक्स’ मोडल ‘कम्फर्ट र पर्फमेन्स’लाई ध्यानमा राखेर उत्पादन गरिएको छ । जिकर एक्समा १२.९ स्क्वायर फिटको पानारोमिक सनरुफ, १४.६ इन्चको फ्लोटिङ टच स्कृन, वायरलेस चार्जर, एम्बीयन्ट लाइट जस्ता अत्याधुनिक फिचर पाउन सकिन्छ ।
चीनको संघाईमा हुन लागेको ‘संघाई अटो शो २०२३’बाट चिनियाँ बजारमा विक्री सुरु हुनेछ । कम्पनीले जिकर एक्सको मूल्य २७ हजार ६०० डलर तोकिसकेको छ । जुन फिचर र रेन्ज अनुसार सेग्मेन्टकै सर्वाधिक सस्तो एसयूभी हो ।

