काठमाडौं । सिजी मोटर्सले बिक्री गर्दै आएको होजोन मोटर्सको उत्पादन नेटा भीको नयाँ मूल्य सार्वजनिक भएको छ । सरकारले बजेट मार्फत ५० देखि १०० किलोवाट मोटर क्षमता भएका कारमा भन्सार बढाउँदै अन्तःशुल्क लगाएपछि कम्पनीले मूल्य वृद्धि गरेको हो ।
कम्पनीका अनुसार नेटा भीको नयाँ मूल्य ३८ लाख ९९ हजार रुपैयाँ बनाइएको छ । यसअघि ३७ लाख ९९ हजार मूल्य रहेको नेटा भीमा कम्पनीले १ लाख रुपैयाँ मूल्य बढाएको हो ।
बजेटले ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको हो । यसअघि १० प्रतिशत भन्सार मात्रै लाग्दै आएको नेटा भीमा अब १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको हो । नेटा भीमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
कम्पनीले एक लाख रुपैयाँ मूल्य वृद्धि गरेपनि एक वर्षको बीमा, एक वर्षकै सवारी कर, फ्लोरम्याट, विभिन्न टुल्सहरु र १७० एमएमको टायर भने दिने जनाएको छ ।
‘हामीले बढ्दो करमा मूल्य समायोजन गरेका छौं । तर, यसअघि दिदै आएको सबै सेवालाई निरन्तरता दिएका छौं’, सिजी मोटर्सको सेल्स टीमले मेरोअटोसँग भन्यो ।

यस्तो छ नेटा भी
क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेकले नेटा भीलाई अब्बल बनाएको छ ।
कम्पनीले यसमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।
नेटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ ।

