प्लान्ट संचालनमा आक्रमक बन्दै हिरो, नेपालको अन्योल कायमै

काठमाडौं । संसारकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले फिलिपिन्समा एसेम्वल प्लान्ट स्थापना गरेको छ । कम्पनीको विश्वब्यापी बिस्तार योजना अन्तर्गत फिलिपिन्समा एसेम्वलिङ प्लान्ट स्थापना गरेको हो ।

फिलिपिन्समा हिरोको मोटरसाइकल तथा स्कुटर विक्रेता कम्पनी ‘टेराफिर्मा मोटर्स’को सहकार्य हिरोले प्लान्ट स्थापना गरेको हो ।

कम्पनीले लगुना सहरमा २९ हजार स्क्वायर मिटर क्षेत्रफलमा एसेम्बल प्लान्टको स्थापना गरेको छ । यो एसेम्वलिङ प्लान्ट २०२४ को मध्यतिरबाट संचालनमा आउने कम्पनीले जनाएको छ ।

हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सन्जय भानले यो साझेदारीले दक्षिण पूर्वि एशियामा हिरोको बजार बिस्तारका लागि सहयोग गर्ने बताए ।

नेपालमा अन्योल

हिरो मोटोकर्प र नेपाल जनरल मार्केटिङबीचको असमझदारीका कारण हिरो मोटरसाइकलको नेपालमा भविष्य के हुन्छ भन्ने अन्योल बढेको छ । ३ दशकभन्दा लामो साझेदारीमा देखिएको खटपटका कारण हिरो मोटोकर्पले एनजीमसँगको सम्झौता खारेज गरेको लामो समय भइसकेको छ । एनजीएमले बाराको परवानीपुरमा एसेम्वलिङ प्लान्टसमेत लगाइसको थियो ।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक डिलर लिनका लागि विभिन्न ब्यपसायीक घरानाहरु लागिरहेको समाचारहरु बाहिर आइरहेका छन् ।

कतिपयले हिरो मोटोकर्पको डिलरका रुपमा चौधरी ग्रुप नियुक्त भइसकेको भनिरहेका छन् । एनजीएम हिरोले भने अन्तिम चरणको वार्ता चलिरहेको बताएको छ ।

यसबीच हिरोको सर्भिस नेटवर्कमा मोटरसाइकलको पार्टस् तथा इन्जिन आयलहरुको अभाव देखिन थालेको छ । हिरोको नेपालका लागि आधिकारिक विक्रेतामा को बन्छ भन्ने एकिन हुन अझै केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top