१५ वर्ष लगातार बजारमा राज गरेका दुई कार, नयाँ भविष्यको खोजीमा

काठमाडौं । सन् २००५ मा नेपाल आएको मारुती सुजुकी स्वीफ्ट र २००७ मा नेपाल आएको हुन्डाई ग्राण्ड आई नेपालमा लामो सयम एकछत्र राज गर्न सफल मोडल हुन् ।

स्वीफ्ट स्पोर्टस् डिजाइनबाट प्रेरित कार हो भने सुरूमा आएको आई १० फ्यामली ह्याचब्याक हो । यी दुवै कारले नेपालमा यस्तो सफलताको झण्डा गाडेका छन् कि अझै कयौं वर्ष यी दुई मोडलको रेकर्ड तोड्न अरू नयाँ मोडललाई हम्मेहम्मे पर्छ ।

हुन्डाई आई १०, ग्राण्ड आई १० हुँदै ग्राण्ड आई १० नियोस बनेको छ । यस बीचमा पहिलो जेनेरेशनमा अलि धेरै फरक डिजाइन भए पनि त्यसपछिको सबै जेनेरेशनमा लगभग उस्तै बडी डिजाइन पाउन सकिन्छ । तर, स्वीफ्टले जेनेरेशन परिवर्तन गरे पनि आफ्नो डिजाइन प्याट्रन भने समान कायम राखेको छ ।

यी दुई कार सानो परिवार भएका मानिसको रोजाइमा पर्न सफल मोडल मानिन्छ । राम्रो हाइवे पर्फमेन्स र समय सापेक्ष परिवर्तनले यी दुवै कारलाई निकै ठूलो सफलता प्रदान गरेको हो ।

आई १० नेपालमा १० हजार यूनिट हाराहारी बिक्री भएको छ । हुन्डाईको नेपालमा सर्वाधिक सफल मोडल नै आई १० हो । आई १० को सफलतासँगै स्वीफ्टले पनि आफूलाई अब्बल बनाउँदै लगेको छ ।

लामो समय सफलताको स्वाद चाखेका यी दुवै मोडल अहिले केही अफ्ठेरोमा परेका छन् । घट्दो माग, बढ्दो मूल्य र ईभी प्रतिको आकर्षणले यी दुवै मोडल अहिले समस्यामा परेका हुन् ।

यद्यपि, बजारले केही गति लिने बित्तिकै यी दुवै मोडलले फेरि बिक्री पाउने अनुमान भने गर्न सकिन्छ । हामीले यी दुवै मोडल राम्रो संख्यामा बिक्री हुनुलाई निम्न कारणलाई प्रमुख मानेका छौं ।

उत्कृष्ट डिजाइन :  स्वीफ्ट र आई १० दुवै आकर्षक र उत्कृष्ट डिजाइनको मिश्रण हो । झट्ट हेर्दा प्रिमियम कारको छनक दिने यी दुवै मोडल मध्यम आय भएकादेखि उच्च व्यावसायिक घरानाका मानिसले प्रयोग गरेका छन् । त्यसको मुख्य कारण नै यी कारको डिजाइन हो ।

डिजाइनकै कारण यी दुवै मोडलले करिब ८ वर्षसम्म भारतमा दिइने सबैभन्दा प्रतिष्ठीत अवार्ड ‘बेस्ट कार अफ दी इयर’ जितेका छन् । त्यसमा स्वीफ्ट ३ र आई १० ले ५ पटक उक्त अवार्ड जितेको हो ।

राम्रो माइलेज :  मारुती सुजुकीको सर्वकालीन सफल मोडल स्वीफ्टले प्रतिलिटर २०.४ किलोमिटर माइलेज दिने एआरएआइले प्रमाणित गरेको थियो । त्यसैगरी, हुन्डाई ग्राण्ड आई १० ले प्रतिलिटर १९.७७ किलोमिटर माइलेज दिने एआरएआइको परीक्षणले देखाएको थियो ।

सहरी सडकमा यी दुवै मोडलले करिब १४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । हाइवेमा चलाउँदा भने प्रतिसलटर १६ किलोमिटरसम्म माइलेज सहजै पाउन सकिन्छ ।

मूल्य : यी दुवै कार नेपाल आउँदा सुरूमा १८ देखि २० लाख रुपैयाँ मूल्य तोकिएको थियो । यी दुवै मोडलको मूल्य अहिले पनि लगभग उस्तै छ । अहिले स्वीफ्ट भीएक्सआइको मूल्य ३४ लाख ९९ हजार र जेडएक्सआइको मूल्य ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, हुन्डाई आई १० नियोस मोडल विभिन्न ४ भेरियन्टमा उपलब्ध रहेको छ । यसको इरा भेरियन्टको मूल्य २९ लाख ९६ हजार, मग्ना भेरियन्टको मूल्य ३५ लाख ५६ हजार, मग्ना अटोमेटीक भेरियन्टको मूल्य ३७ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको ३७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

राम्रो रिसेल मूल्य : स्वीफ्ट र आई १० नेपालमा सबैभन्दा धेरै रिसेल मूल्य भएका कारमा पर्छन् । सन् २०१०/११ का आई १० अहिले पनि १३/१४ लाखमा बिक्री हुँदै आएका छन् । स्वीफ्ट पनि त्यो मामलामा निकै सफल मानिन्छ । यसको पनि १२/१३ वर्ष पुराना कार अहिले पनि १२/१३ लाख रुपैयाँ पर्छ ।

बाक्लो सर्भिस नेटवर्क र पार्टस् : यी दुवै मोडलको बिक्रीमा सबैभन्दा महत्वपूर्ण भूमिका सर्भिस नेटवर्क र पार्टस्को उपलब्धता हुनुलाई पनि लिने गरिन्छ । निकै धेरै सर्भिस सेन्टर, प्रयाप्त पार्टस् उपलब्ध हुनु हुन्डाई र मारुती सुजुकी दुवै मोडलको बलियो पक्ष हुन् ।

र, अन्त्यमा, यी दुवै कार आफ्नो भविष्य कसरी जोगाउन भन्ने चिन्तामा पुगेका छन् । मारुती सुजुकीले ईभीमा जान गरेको ढिलाई, हुन्डाईले पनि ईभीमा छुट्टै पहिचान निर्माण गर्न गरेको ठूला र महंगा मोडलको कारण नेपालमा सर्वाधिक सफल यी दुई मोडल नयाँ भविष्यको खोजीमा रहेको भन्दा फरक नपर्ला ।

 


Back_to_top