कार उत्पादन र बिक्रीमा रेकर्ड बनाउँदै टेस्ला

काठमाडौं । ब्याट्री इलेक्ट्रीक भेहिकलको बादशाह टेस्लाले आफ्नो उत्पादन र बिक्रीमा नयाँ रेकर्ड बनाउन थालेको छ । कम्पनीले सन् २०२३ को अप्रिलदेखि जुनसम्मको दोस्रो क्वाटरमा ४ लाख ७९ हजार ७०० यूनिट कार उत्पादन गरेर रेकर्ड बनाएको हो ।

टेस्लाले अघिल्लो वर्षको दोस्रो क्वाटरको तुलनामा ८६ प्रतिशतले आफ्नो उत्पादन बढाउन सफल भएको हो । यहि वर्षको पहिलो क्वाटरमा ४ लाख ४० हजार ८०८ यूनिट उत्पादन गरेको टेस्लाले यो क्वाटरमा ३९ हजार यूनिट बढी उत्पादन गरेको तथ्यांक सार्वजनिक भएको छ ।

२०२३ दोस्रो क्वाटरको उत्पादन र बिक्री तथ्यांक

कम्पनीले उत्पादन ४ लाख ७९ हजार ७०० यूनिट गरेको भएपनि डेलिभरी भने ४ लाख ६६ हजार १४० यूनिट गरेको छ । जुन अघिल्लो वर्षको दोस्रो क्वाटरको तुलनामा ८३.०२ प्रतिशतले बढी हो । टेस्लाले यही वर्षको पहिलो क्वाटरमा ४ लाख २२ हजार ८७५ यूनिट ईभी डेलिभरी दिएको थियो ।

टेस्लाले सबैभन्दा धेरै उत्पादन र बिक्री मोडल थ्री र मोडल वाईको गरेको छ । यी दुई मोडल गरेर दोस्रो क्वाटरमा ४ लाख ३७ हजार ४०० यूनिट डेलिभरी भएको छ भने मोडल एक्स र मोडल एसको बिक्री १९ हजार २५५ यूनिट भएको छ ।


Back_to_top