थपिँदै १२५ फास्ट चार्जिङ सेन्टर

प्राधिकरणले निर्माण गरेको चार्जर

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा देशभर १२५ बढी विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन बन्ने भएका छन् । विभिन्न गाडी बिक्रेता कम्पनीहरू र नेपाल विद्युत् प्राधिकरणले यस वर्ष १२५ बढी फास्ट चार्जर निर्माण गर्ने योजना अगाडि सारेका हुन् ।

चार्जिङ स्टेशन ईभीका लागि मुख्य पूर्वाधर हो । गाडी बिक्रेता कम्पनीहरूको योजना अनुसार यस आर्थिक वर्षमा कम्तीमा १२० हाराहारी फास्ट चार्जर जडान हुने सहजै अनुमान गर्न सकिन्छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक वर्ष भित्र ५० स्थानमा डीसी फास्ट चार्जर जडान गर्ने योजना अगाडि सारेको छ । कम्पनीले जडान गर्ने चार्जर ३० किलोवाट क्षमताको हुनेछ ।

पारामाउन्ट मोटर्सले हरेक १०० किलोमिटरको दूरीमा चार्जर राख्नेगरी पूर्वपश्चिम हाइवे, मदन भण्डारी राजमार्ग, वीपी हाइवे, पृथ्वी हाइवे, मध्ये पहाडी राजमार्ग, हुलाकी राजमार्ग, सुर्खेत रोड लगायतका सडकमा आवश्यकता अनुसार चार्जर राख्दै जाने बताएको छ । अहिल्यै करिब ३० स्थान छनोट भएको कम्पनीले जनाएको छ ।

एमजीपछि धेरै चार्जर राख्ने योजना सीजी मोटर्सले बनाएको छ । चौधरी ग्रुपले बिक्री गर्दै आएको नेटा भी र चांगनको इलेक्ट्रीक भ्यानको लागि डीसी चार्जर जडान गर्न लागेको हो ।

सीजीले जडान गर्ने चार्जर सीसीएसटु र जीबीटी दुवै किसिमको हुने कम्पनीले जनाएको छ । सीजीले बिक्री गर्ने चांगनको माइक्रो भ्यानहरू अहिले सार्वजनिक यातायातको रूपमा चल्न थालेको कारण कम्पनीले चार्जिङ नेटवर्क विस्तार गर्न लागेको हो ।

अहिलेसम्म एसी चार्जर जडानलाई मात्रै तीव्रता दिँदै आएको हुन्डाईले पनि डीसी फास्ट चार्जर जडान गर्ने भएको छ । हुन्डाईले जडान गर्ने डीसी फास्ट चार्जरहरू ५० किलोवाट र त्योभन्दा माथिको हुने कम्पनीले जनाएको छ ।

‘हामीले २०१८ देखि विभिन्न स्थानमा एसी चार्जर जडानलाई प्राथमिकता दिँदै आएका थियौं । अब डीसी फास्ट चार्जर राख्ने तयारीमा छौं । यो वर्ष करिब १० स्थानमा डीसी चार्जर राख्नेछौं,’ लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले मेरोअटोसँग भन्यो ।

नेपाल विद्युत् प्राधिकरणले ५१ स्थानमा चार्जर संचालनमा ल्याएसँगै थप १० स्थानमा चार्जर जडान प्रक्रिया सुरू गरेको छ । प्राधिकरणले लगाउने नयाँ चार्जरहरू केही महिना भित्रै निर्माण सम्पन्न हुनेछ ।

टाटाले तत्काल दुई गन भएको डीसी फास्ट चार्जर निर्माण प्रक्रियामा लगेको जानकारी दिएको छ । कम्पनीले अहिले गाडीको धेरै चाप हुने स्थानको डीसी चार्जर फेर्न लागेको हो ।

‘अहिले धेरै गाडी चार्जको लागि आउने स्थानको छनोट भएको छ । त्यहाँ दुई वटा गन भएका चार्जर राख्ने छौं । त्यहाँ अहिले रहेको चार्जरलाई अन्यत्र सार्ने योजना छ,’ सिप्रदी ट्रेडिङ प्रालि स्रोतले भन्यो ।

सिप्रदीले चालु आर्थिक वर्षको पहिलो क्वाटरमा नै ६ स्थानमा नयाँ चार्जर जडान गर्न लागेको हो । त्योसँगै देशका विभिन्न २०० स्थानमा ७ किलोवाट क्षमताको एसी चार्जर जडान गर्ने कम्पनीले जनाएको छ ।

बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले १० स्थानमा नयाँ चार्जर जडान गर्ने जनाएको छ । कम्पनीले अबको केही महिना भित्रै चार्जर नेपाल आइपुग्ने र त्यसपछि जडानको प्रक्रिया सुरू हुने जनाएको छ ।

अहिले बीवाइडीसँग डीसी फास्ट चार्जरभन्दा एसी फास्ट चार्जर धेरै रहेको कारण नयाँ आउन थालेको गाडिको लागि डीसी चार्जर जडान गर्न लागिएको कम्पनीले जनाएको छ ।

यसबाहेक थुप्रै ब्राण्डले ईभी नेपाल ल्याउने योजना बनाइरहेका छन् । सिट्रोन, किया, सेरेस, चेरी, बीएमडब्लू, महिन्द्रा, निसान, जस्ता केही कम्पनीले अहिल्यै ईभी बिक्री गर्दै आएका छन् भने केही ब्राण्डले चाँडै ल्याउँदैछन् । तर, उनीहरूको चार्जिङ पूर्वाधार निर्माणमा ठोस योजना बाहिर आएको छैन ।


Back_to_top