काठमाडौं । मोटरसाइकल तथा स्कुटरको बिक्री बढ्न नसकेसँगै कम्पनीहरुले विभिन्न किसिमका स्कीम संचालन गरिरहेका छन् । दुई पाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनीहरु अहिले स्कीम ल्याउन प्रतिस्पर्धा गरिरहेका हुन् ।
मोटरसाइकल तथा स्कुटरको आयात झण्डै ६० प्रतिशतले खुम्चेको र आयात भएका साधनपनि बिक्री गर्न हम्मेहम्मे परेसँगै बिक्रेताहरुले स्कीम दिइरहेका छन् ।
अघिल्लो वर्ष बजारमा तरलता हाहाकार हुँदा १८ प्रतिशतसम्म ब्याजदर पुर्याएका कम्पनीहरुले अहिले सून्य प्रतिशत ब्याजदरको स्कीम चलाई रहेका छन् । मनसुन अफर भन्दै ग्राहकलाई लोभ्याउने स्कीम अहिले पाउन सकिन्छ । एक्स्चेन्जमा अतिरिक्त बोनस, एक वर्षको सवारी कर, एक थान हेलमेट, रेनकोट, छाता, थोरै डाउन पेमेन्ट, थोरै मासिक किस्ता लगायतका थुप्रै स्कीम पाउन सकिन्छ ।
यामाहा, बजाज, टीभीएस र सुजुकीले सून्य प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएको छ । सून्य ब्याजदर भएको स्कीममा बजाजले सबै किसिमका ग्राहकलाई तान्न खोजेको देखिन्छ ।
उसले ल्याएको स्कीममा ४० प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराउने जनाएको छ ।
बजाजले ४० र ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई बाँकी रकम १२ किस्तामा तिर्नु पर्ने भनेको छ भने ६० प्रतिशत डाउन पेमेन्ट गर्नेले १८ महिनासम्मको किस्ता सुविधा पाउने छन् ।
यामाहाले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएको छ । तर, कम्पनीको यो स्कीममा मोटरसाइकल किन्नेले कर्जा वापतको रकम ६ किस्तामा भुक्तानी गर्नु पर्ने हुन्छ ।
टीभीएसले ल्याएको सून्य प्रतिशत स्कीममा पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नुपर्छ । कर्जा लिएको रकम एक वर्ष भित्र १२ किस्तामा भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।
सुजुकीले पनि आफ्नो मोटरसाइकल र स्कुटरको ग्राहकलाई सून्य प्रतिशत ब्याजदर स्कीम दिएको छ । यो स्कीममा मोटरसाइकल वा स्कुटर किन्नेले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । बाँकी रकम १२ किस्तामा भुक्तानी गर्नु पर्छ ।
होन्डाले एकदमै न्यून मासिक किस्ता तिर्दा पुग्ने स्कीम संचालन गरिरहेको छ । यो बाहेक ठूला मोटरसाइकल बिक्री गर्ने कम्पनीहरुले पनि फाइनान्स स्कीम संचालन गरिरहेका छन् ।

