‘नाडा अटो शो २०२३’मा आउन सक्ने तीन उत्कृष्ट पेट्रोल कार

काठमाडौं । नाडा अटो शो २०२३ आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । सन् २०१९ पछि पहिलो पटक भृकुटीमण्डपमा अटो शो आयोजना हुँदैछ ।

अघिल्लो वर्ष सरकारले पेट्रोल कारमा प्रतिबन्ध लगाएको कारण अटो शो आयोजना हुन सकेन । तर, यसपटक सबै मुख्य कम्पनीहरु अटो शोमा भाग लिँदैछन् । विशेषगरी टाटा, सुजुकी, हुन्डाई, किया, महिन्द्रा, एमजी, मेक्सस, निसान, फोर्ड, ग्रेटवाल, सिट्रोन, बीवाइडी, नेटा लगायतका चार पाङ्ग्रे साधन बिक्री गर्ने कम्पनीहरुले प्रदर्शनीमा भाग लिँदैछन् ।

यस्तोमा बजारमा कुन ब्राण्डले नयाँ मोडलहरु ल्याउँछ भन्ने चासो धेरैमा हुनु स्वभाविक हो । विगतदेखि नै अटो शोमा ईभीको रौनक छुट्टै हुन थालेको थियो । अघिल्लो वर्ष भएको ईभी शोले त्यसलाई थप बढायो । यो वर्ष झनै ईभीहरु धेरै आउने क्रममा रहेको कारण अटो शो ईभीमय हुने धेरैको अनुमान छ ।

तर, यस वर्ष केही ब्राण्डले राम्रा पेट्रोलियम पदार्थबाट चल्ने गाडी ल्याउने अनुमान गरिएको छ । त्यसमा अहिल्यै बजारमा बुकिङ भइरहेको सुजुकी फ्रङक्सदेखि हुन्डाई एक्सटर र टाटा पन्चसम्म हुनेछन् ।

फाइल तस्बिर

अहिलेसम्म आयातकर्ता कम्पनीले टाटा पन्च र हुन्डाई एक्सटर नेपाल आउने विषय पुष्टि गरिसकेका छैनन् । तर, कम्पनी स्रोतका अनुसार यी दुबै मोडल ल्याउन हरसम्भव प्रयास भइरहेका छन् ।

सुजुकी फ्रङक्स क्रसओभर मोडल हो । अहिले नै यसलाई बुकिङ गर्न सकिन्छ । टाटा पन्च र हुन्डाई एक्सटर माइक्रो सेग्मेन्टका एसयूभी मोडल हुन् । मूल्यका हिसावले पनि ४० लाखभन्दा तल आउने यी पेट्रोल कार धेरै मानिसको रोजाईमा पर्न सक्ने छन् ।

सुजुकी फ्रङक्स

सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले फ्रङ्क्सको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले तीन भेरियन्ट सिग्मा, डेल्टा र डेल्टा प्लस भेरियन्टमा उपलब्ध गराएको छ ।

अहिले बुकिङ लिइरहेको फ्रङक्सको सिग्मा भेरियन्टको मूल्य ३९ लाख ९९ हजार, डेल्टा भेरियन्टको ४१ लाख ९९ हजार र डेल्टा प्लस भेरियन्टको ४२ लाख ९९ हजार तोकिएको छ ।

फ्रङक्समा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । यसको टप भेरियन्टमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की–लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर विन्डोज, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर पाउन सकिन्छ ।

त्यसैगरी, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।

टाटा पन्च

टाटाको सबैभन्दा सानो एसयूभी पन्च सिप्रदी ट्रेडिङले अघिल्लो वर्षनै नेपाल ल्याउन लागेको थियो । तर, आयात प्रतिबन्धपछि यसलाई रोकेको थियो ।

टाटा पन्च माइक्रो एसयूभी सेग्मेन्टमा टाटाले ल्याएको पहिलो कार हो । यसले पनि ग्लोबल क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । भारतमा बिक्री सुरु भएदेखि नै यसले लगातार राम्रो बिक्री पाइरहेको छ ।

साइजमा सानो भएपनि डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार भएको कारण नै भारतमा यसको विक्री राम्रो भएको मानिन्छ ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, रिभर्स क्यामेरा र सेन्सर यसको टप भेरियन्टमा पाउन सकिन्छ ।

साथै, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

हुन्डाई एक्सटर

माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध एक्सटर फिचर लोडेड मोडल हो । ग्राण्ड आई–१० नियोसको प्लेटफर्ममा बनेको यो गाडी भेन्यूभन्दा कम मूल्यमा नेपाल आउने छ ।

यसमा रहेको एसी भेन्ट, ड्यासबोर्ड, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट र इन्टुमेन्ट क्लस्टर ले आउट आई–१० को जस्तै छ । त्यस्तै क्लाइमेट कन्ट्रोल नब र थ्री स्पोक स्टेरिङ ह्वील ठ्याक्कै आई–१० कै जस्तो देखिन्छ ।

एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रि, ड्यास क्याम जस्ता फिचरहरु दिएर फुल्ली डोडेड एसयूभी बनाएको छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन पाउन सकिन्छ । अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइटले यसलाई युवा लक्षीत मोर्डन एसयूभी बनाएको छ ।


Back_to_top