काठमाडौं । नेपाल विद्युत प्राधिकरण, एसिशयन डेभलपमेन्ट बैंक र नर्वेजियन एम्बेसीको सहकार्यमा स्थापना भएको ५१ वटा डीसी फास्ट चार्जरहरू आजदेखि संचालनमा आएका छन् । प्राधिकरणको नेतृत्वमा निर्माण भएका यी चार्जिङ नेटवर्कको प्रयोगले नेपालमा ईभी प्रयोगलाई रफ्तार दिएको छ ।
नेपाल विद्युत प्रधिकरणको नेतृत्वमा तयार भएको पहिलो चरणको ५१ स्थानको चार्जरहरू सबै संचालनमा आएका हुन् । सबै चार्जिङ सेन्टर संचालन गर्दै प्राधिकरणले थप ११ स्थानमा नयाँ नेटवर्क निर्माणको काम अगाडि बढेको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंङले भने, ‘पहिलो चरणको काममा आफूहरूले सफलता पाएको र चाँडै थप नेटवर्क विस्तार गर्ने तथा क्लिन इनर्जीको प्रयोग बढाउन प्राधिकरण प्रतिबद्ध रहेको छ ।’
उनले निजी क्षेत्रको लागि आवश्यक चार्जिङ नेटवर्क बनाउन चाहिने ट्रान्सफर्मर प्राधिकरणले निःशुल्क उपलब्ध गराउँदै आएको र त्यसलाई निरन्तरता दिने बताए ।
‘हामी चार्जर राख्न चाहने निजी क्षेत्रलाई विद्युत र ट्रान्सफर्मर उपलब्ध गराउँछौं । यसले नेपालमा ईभीको प्रयोग बढाउने र दीर्घकालमा देशलाई फाइदा पुग्ने छ,’ घिसिङले भने ।
कार्यक्रममा ऊर्जामन्त्री शक्ति बस्नेतले सरकार दीर्घकालीन योजना बनाएर ऊर्जा विकासमा लागेको र नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन कुनै कसर बाँकी नराखी काम गर्न लागिपरेको बताए ।
‘हामी १०/१२ वर्षको योजना बनाएर अगाडि बढेका छौं । यसले नेपाल ऊर्जामा अत्मनिर्भरपछिको योजनालाई अगाडि ल्याउने छ । ऊर्जाकै माध्यमबाट देश विकास सम्भव छ,’ मन्त्री बस्नेतले भने ।
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले चार्जिङ नेटवर्क विस्तारमा निजी क्षेत्रसँग कसरी काम गर्ने भन्ने विषयमा ठोस योजना बनाउने काम अगाडि बढेको जानकारी दिए ।
‘हामी सन् २०३० सम्म निजी प्रयोगमा आउने ९० प्रतिशत क्लिन इनर्जी भेहिकल बिक्री हुनेगरी काम गरिरहेका छौं । त्यसको लागि पूर्वाधारमा लगानी अनिर्वाय शर्त हो । यसमा निजी क्षेत्र समेट्न हामी काम गर्दैछौं,’ सचिव घिमिरेले भने ।
एशियाली विकास बैंकका इनर्जी सेक्टरका डाइरेक्टर सुजाता गुप्ताले वातावरण बचाउने जिम्मेवारी हाम्रै भएको धारणा राखेकी थिइन् । ‘२० वर्ष अगाडि काडमाडौंमा पंखा पनि चाहिँदैन थियो । अहिले हरेका घरमा एसी जडान हुन थालेको छ । नेपाल क्लिन इनर्जीमा धेरै सम्भावनाको देश भएकाले ईभी प्रयोगमा विश्वलाई नेतृत्व गर्न सक्छ,’ डाइरेक्टर गुप्ताले भनिन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नर्वेजियन एम्बेसीका प्रतिनिधि जेन एरिकले पेसिर सम्झौता अनुसार पृथ्वीको तापमान माइनस १.५ डिग्री कम गर्ने काममा विश्व लागेको र नेपाल त्यसबाट अछुतो रहन नसक्ने धारणा राखे ।
‘नर्वे आफैं ईभीको प्रयोग बढाइरहेको देश हो । नेपालले पनि ईभी प्रयोग बढाइरहेको छ । अहिले बनेका चार्जिङ नेटवर्क सुरूआत हो । यसमा थप काम गर्न हामी नेपाल सरकारलाई सघाउने छौं,’ एरिकले भने ।

