काठमाडौं । चाडपर्व नजिक आएसँगै अटोमोवाइल बजार केही चलायमान हुन्छ । विशेषगरी चाडपर्वको अवसर पारेर धेरै मानिसले नयाँ कार किन्ने गरेको कारण बिक्रेताहरुले पनि विभिन्न स्कीम दिने गरेका छन् ।
अबको एक महिना भित्रै दशैं सकिने भएको कारण अहिले अधिकांश कम्पनीले स्कीम ल्याइसकेका छन् । हुन्डाई, एमजी, सुजुकी, निसान, फक्सवागेन जस्ता ब्राण्डले स्कीम ल्याइसकेका हुन् । अहिले धेरै आर्थिक संकट गहिरो भएको समयमा नयाँ कार पनि कम मूल्यमा खोज्ने धेरै ग्राहक रहेका छन् ।
ग्राहकको माग सम्बोधन गर्न विभिन्न कम्पनीले बिक्री गर्दै आएका ३० लाखभन्दा कम मूल्यका गाडी सक्षम हुने हामीले अनुमान गरेका छौं । यस्तोमा बजारमा उपलब्ध १४ लाखदेखि ३० लाख रुपैयाँ भित्रै किन्न पाइने विभिन्न ब्राण्डका कारहरुको विषयमा यहाँ हामीले जनाकारी दिने प्रयास गरेका छौं ।
सहरी क्षेत्रको लागि मात्रै उपयुक्त मानिने साना बिद्युतीय कारहरु यस वर्षको दशैंमा धेरैले खोज्ने कार बन्ने देखिएको छ । यसमा सेरेस ई–१ सबैभन्दा सस्तो मोडलको रुपमा उपलब्ध हुनेछ । यसको मूल्य १४ लाखदेखि १८ लाखसम्म कायम भएको छ । यसमा १३ र १६ किलोवाट आवरको ब्याट्री दिइएको छ ।
दोस्रो कम मूल्यमा पाइने कार एमजी कोमेट हो । भारतमा एमजीले उत्पादन गरेको कोमेट निकै आकर्षक डिजाइनमा उपलब्ध छ । दुई भेरियन्टमा किन्न पाइने कोमेटको मूल्य १८ लाख २१ लाख रुपैयाँ रहेको छ । यसमा १७ किलोवाट आवरको ब्याट्री छ ।
विलिङ एयर मिनी पनि कम मूल्यमा पाइने कार हो । एयर ईभी र कोमेट एउटै गाडी हो भन्दा फरक पर्दैन । तर, एयर ईभी सानो र ठूलो साइजको दुई फारक अप्सनमा उपलब्ध छ । त्यसले यसको मूल्य २१ लाख र २७ लाख निर्धारण गरेर बिक्री भइरहेको छ । यसमा १७ र २४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
टाटा टियागो अर्को हटकेक मोडल हो । टाटाले यसलाई दुई ब्याट्री अप्सन र ४ भेरियन्टमा ल्याएको छ । यसको मूल्य २२ लाखदेखि २८ लाख रुपैयाँसम्म कायम गरेर बिक्री सुरु भएको छ । यसमा १९ र २४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।
हुन्डाई ग्राण्ड आई १० नियोसको इन्ट्री भेरियन्ट २९ लाख ९६ हजार मूल्य तोकेर बिक्री हुँदै आएको छ । यो सफल ह्याचव्याकको इन्ट्री भेरियन्टमा पनि राम्रा फिचर पाउन सकिन्छ ।
हुन्डाईको सफल ह्याचव्याकमा उसको चर्चित १.२ लिटर कप्पा इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनको पफर्मेन्स उत्कृट रहेको छ । त्यसैले तपाई ३० लाखभन्दा कम बजेटमा कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने ग्राण्ड आई १० नियोस टेष्ट ड्राइभ एक पटक अवस्य गर्नुहोला ।
सुजुकी सेलेरियो पारिवारीक कारमा निकै नाम कमाएको मोडल हो । मारुती सुजुकीले बनाएको १.० लिटर इन्जिनले निकै उत्कृष्ट माइलेज दिने भएको कारण यो कार पनि तपाईले हेर्न सक्नु हुन्छ । कम्पनीको दावी जस्तो भएपनि सेलेरियोले प्रति लिटर २० किलोमिटरसम्म माइललेज दिन्छ ।
सेलेरियो जेडएक्सआई भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैले यसलाई पनि टेष्ट ड्राइभ गरेर हेर्दा तपाईलाई आफ्नो लागि उपयुक्त कार छनोट गर्न सहयोग पुग्छ ।


