काठमाडौं । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट घरमै बसेर अनलाइनबाटै काट्न सक्नेछन् ।
अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका हुन् ।
साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो ।
हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रिसेवा हिजो बुधबारदेखि सुरू भएको हो ।
‘लामो रूटमा जाने यात्रुहरूले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले हामीले अनलाइन टिकटिङको प्रबन्ध मिलाएका छौँ र भविष्यमा यात्रुहरूको सुविधाको लागि थप सेवा विस्तार गर्नेछौँ’ सम्झौतापछि साझा यातायातका सञ्चालक तुलाधरले भने ।


