काठमाडौं । भारतीय स्टार्टअप कम्पनी एथर इनर्जीका ‘हाइ पर्फमेन्स’ स्कुटर आजबाट नेपालमा बिक्री सुरु हुँदैछ । एथर ब्राण्डका उत्पादन बैद्य इनर्जीले नेपालमा बिक्री सुरु गर्न लागेको हो ।
बैद्यज् अर्गनाइजेशन अन्तर्गत टोयोटाका उत्पादन पनि विगत ५६ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ ।
आजबाट नेपालमा बिक्री सुरु हुने एथरको पहिलो मोडलको रुपमा एथर ४५० एक्सका दुई भेरियन्ट छन् । यी दुबै भेरियन्टको कम्पनीले यसअघि नै बुकिङ लिइरहेको थियो ।
भारतमा निकै सफल मानिएको एथरको फ्ल्यागशिप मोडल ४५० एक्सलाई कम्पनीले दुई फरक ब्याट्री अप्सनमा नेपाल ल्याउने छ । यसको कम मूल्यको भेरियन्टमा २.९ किलोवाट आवरको ब्याट्री छ । यसको मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकेर बुकिङ लिएको थियो ।
त्यसैगरी कम्पनीले ४ लाख २० हजार रुपैयाँ मूल्य निर्धारण गरेको भेरियन्टमा भने ३.७ किलोवाट आवरको ब्याट्री छ । ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसारको भर्सन छनोट गरेर खरिद गर्न सक्नेछन् ।
एथर ४५० एक्स सेग्मेन्ट लिडर फिचर उपलब्ध स्कुटर हुनेछ । यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टासम्म छ ।
यी स्कुटरले सिंगल चार्जमा ९५ किलोमिटरदेखि १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।


