‘फ्यागशिप शोरुम’सहित एथरको नेपाल इन्ट्री, दुई पाङ्ग्रे ईभीमा नयाँ बेन्चमार्क

काठमाडौं । काठमाडौंको ग्रैहीधारमा आफ्नो फ्ल्यागशिप शोरुमसहित एथर इनर्जीले नेपालमा आफ्नो उत्पादन बिक्री सुरु गरेको छ । एथरलाई बैद्य इनर्जीले नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

कम्पनीले आफ्नो पहिलो शोरुममा प्रिमियम स्कुटर ४५० एक्सको दुई भेरियन्ट सार्वजनिक गरेको छ । एथर ब्राण्ड सार्वजनिक कार्यक्रममा भारतबाट एथर इनर्जीको ठूलो टिम नेपाल आएको थियो ।

उक्त कार्यक्रममा एथर इन्डियका प्रतिनिधिहरु र नेपाली ब्यवसायी सुरज बैद्य, ऋतु सिंह बैद्य लगातय बैद्य इनर्जीका सीईओ सुयान्स बैद्य लगायतको उपस्थिति थियो ।

शोरुम उद्धघाटन कार्यक्रममा बोल्दै बैद्य इनर्जीका सीईओ सूयान्स बैद्यले भने, ‘हामीले पहिलो शोरुम आजबाट संचालनमा ल्यायौं । निकट भविष्यमा नै अर्को शोरुम पनि काठमाडौंमा नै खुल्नेछ । त्यसपछि आवश्यकता अनुसार क्रमिकरुपमा उपत्यका बाहिर जानेछौं ।’

बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा फास्ट चार्जिङ नेटवर्क बनाउने र सर्भिस नेटवर्कलाई बलियो बनाउने बैद्यले प्रतिबद्धता जनाए ।

एथरले पर्फमेन्स स्कुटरमा भारतमा ठुलो सफलता पाएको र नेपालमा पनि त्यही किसिमको सफलता पाउँने बताउँदै एथर इनर्जीका चिफ विजनेश अफिसर रनभित पोखेलाले भने, ‘भारतीय बजारमा एथर ब्रान्ड स्थापित हुँदै गर्दा, हामी अन्तर्राष्ट्रिय बजारको रुपमा नेपाल प्रवेश गरेका छौं । यसको मूख्य कारण एथरका उत्पादन नेपाली भुगोल सुहाउँदो छ । त्यसमा पनि नेपालमा प्रवेश गर्दा बैद्य ग्रुपसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी छौं ।’

कम्पनीले निर्माण गरेको शोरुम दुई पाङ्ग्रे इलेक्ट्रीक सवारीसाधन बिक्री गर्ने ब्राण्डहरु मध्यकै सबैभन्दा राम्रो छ भन्दा फरक पर्दैन । अहिलेसम्म गोदाममा राखेर ईभी बिक्री गर्दै आएका ब्राण्डहरुलाई एथरको इन्ट्रीले झस्क्याउने छ ।

एथर ‘४५० एक्स’लाई दुई ब्याट्री अप्सनमा उपलब्ध गराइएको छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् । यी दुई भेरियन्टको मूल्य क्रमशः ३ लाख ८५ हजार रुपैयाँ र ४ लाख २० हजार रुपैयाँ रहेको छ ।

एथर ‘४५० एक्स’ लाई सिंगल चार्जमा १०० किलोमिटरदेखि १४६ किलोमिटरसम्म गुडाउन सकिने छ । यसको टप स्पीड क्षमता ९० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीको दावी छ ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले उपलब्ध छ । जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर जस्ता फिचर उपलब्ध छन् ।

यसमा सेग्मेन्ट फ्रष्ट फिचरको रुपमा हिल होल्ड, बाइब्री क्यालिपर, टच डिस्प्ले, ५ राइड मोड, बेल्ट ड््राइभ, फलसेफ जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top