काठमाडौं । नेपालमा दुईपाङ्ग्रे सवारीसाधनको बिक्री वार्षिक ३ लाख यूनिट पार गरेको थियो । सन् २०२१ मा ३ लाख यूनिट माथि मोटरसाइकलको बिक्री भएसँगै बिक्रेताहरू थप हौसिएका थिए । तर, २०२२ बाट २ लाखभन्दा तल झरेको बजार २०२३ सकिनै लाग्दा झण्डै १ लाख यूनिटमा आइपुगेको हो ।
यसलाई अर्थतन्त्रमा देखिएको समस्याको कारण भएको शून्यता मान्ने वा ठूलै हलचल हुनु अघिको मौनता मान्ने । सबैले आ–आफ्नै हिसाबले यसको व्याख्या गर्ने गरेको पाइन्छ ।
घट्दो मोटरसाइकल बिक्रीलाई युवा देश बाहिर जाने बढ्नुलाई मुख्य कारण देखाइँदै आइएको छ । तर, नेपालमा रहेको जनसंख्या, यहाँको रोजगारी, मानिसको आम्दानीका स्रोत कमजोर हुनु जस्ता विषयले मोटरसाइकलको बिक्रीमा गिरावट आएको हो ।
सन् २०२० पछि बजारमा धेरै मानिसको पहुँचमा पुग्न सक्ने कम मूल्यका नयाँ मोटरसाइकलहरू बजारमा नआउँदा पनि बिक्रीमा त्यसको प्रत्यक्ष असर परेको हो । कोभिड संक्रमण कम हुँदा जान थालेसँगै महंगो भएको पेट्रोलियम पदार्थ, रिकन्डिसन हाउसमा पुराना मोटरसाइकलको कारोबार ठप्प हुँदा पनि नयाँ मोटरसाइकल बिक्रीमा गिरावट आएको हो । त्यसमा पनि मोटरसाइकलमा १८ प्रतिशतसम्म ब्याजदर पुगेकै कारण धेरैले आफ्नो दुईपाङ्ग्रे साधन खरिद गर्ने योजना नै स्थगित गरेको मान्न सकिन्छ ।

यस्तै, स–साना समस्या समाधान गर्न अहिले बैंकहरूले एक्सचेन्ज स्कीम, ब्याज नलाग्ने स्कीम र नगद छुटसम्म दिन थालेका छन् । तर पनि अझै ग्राहक भेट्टाउन सकेका छैनन् ।
अहिले बजारमा चल्तीका ब्राण्डहरू बजाज, होन्डा, यामाहा, टीभीएस जस्ता ब्राण्डले एक्सचेन्ज स्कीम दिइरहेका छन् । उनीहरूले पुरानो मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्दा बजार मूल्याङ्कन भन्दा ५० हजार रुपैयाँसम्म बढी एक्सचेन्ज बोनस घोषणा गरेका छन् । त्यसका बाबजूद पनि ग्राहक आकर्षित भएका छैनन् ।

मोटरसाइकल बिक्रेताहरूसँग यस विषयमा कुरा गर्दा युवा पलायनलाई मुख्य कारण देखाउने गरेका छन् । यामाहा नेपालका सीईओ राजु क्षेत्री भन्छन्, ‘मोटरसाइकलको बिक्री घट्नुको धेरै कारण छन् । त्यसमा युवाहरू विदेशिनु पहिलो कारण हो । त्यस्तै पुराना मोटरसाइकलको कारोबारमा आएको कमीको कारण नयाँ बिक्रीमा समस्या देखिएको हो ।’
यस्तै, तर्क अन्य ब्राण्डहरूले पनि गरिरहेका छन् । बजार नचल्नुमा पूँजी खर्च गर्न मानिस तयार नभएको मान्छन् बजाजको एसेम्बल उद्योग समेत चलाइरहेका गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा । उनी भन्छन्, ‘आम्दानी कमजोर हुनु र भएको रकम खर्च गर्दा भोलि कस्तो दिन आउने हो भन्ने चिन्ताकै कारण मानिसले खर्च गर्न सकेका छैनन् । त्यसको असर नयाँ मोटरसाइकल बिक्रीमा देखिएको हो ।’

सवारीसाधन हरेक नागरिकको आवश्यकता हो । अहिले तत्काल केही समस्या देखिए पनि दीर्घकालमा यसको बजार राम्रै हुने नाडा अध्यक्ष ध्रुव थापा बताउँछन् ।
‘अहिले बिक्री कम भएको पक्कै हो । तर, बजारका केही सिद्धान्त हुन्छन्, त्यही अनुसार कहिले धेरै र कहिले थोरै हुनु स्वभाविक हो । अहिले जुन हिसाबले बिक्री घटेको छ, त्यो भने कहालीलाग्दो देखिन्छ’, अध्यक्ष थापाले भने ।
हाम्रो बुझाइ
बजारमा मोटरसाइकल बिक्री घट्नुको धेरै कारण छन् । नेपाल वार्षिक लगभग १ लाख ८० देखि ९० हजार यूनिटको बजार हो । तर, कोभिड १९ को कारण सन् २०२० र २०२१ को दुई वर्षमा झण्डै ६ लाख यूनिट मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो । त्यसले नै बजार चेनलाई अफ्ठ्यारोमा पारेको हो ।
सामाजिक दूरी कायम गर्ने नाममा केही बचत हुनेहरूले मानिस नै पिच्छे मोटरसाइकल वा स्कुटर खरिद गरेका थिए । कोभिड १९ संक्रमण कम हुँदै गएपछि अधिकांश युवा पढ्न वा काम गर्न विदेश गए । उनीहरूको मोटरसाइकल सेकेन्ड ह्याण्ड बजारमा आयो ।

दोस्रो बजारमा मूल्य घट्नु र नयाँको मूल्य निरन्तर बढ्दा अहिले मोटरसाइकल आवश्यक पर्ने धेरैले दोस्रो बजारबाट खरिद गरेको पाइन्छ । सन् २०२० को तुलनामा २५ देखि ३० प्रतिशतसम्मले नयाँ मोटरसाइकलको मूल्य बढाइएको छ ।
अर्को मुख्य कारण आर्थिक गतिविधि ठप्प भएर मोटरसाइकलको व्यापार नभएको हो । मोटरसाइकलको प्रयोग गर्ने निम्न मध्यम वर्ग र मध्यम वर्गका मानिसले यस बीचमा कमाउने होइन गुमाउने अवस्था आयो । साना मझौला व्यवसायमा रहेका करिब १५ लाख मानिस समस्यामा आए । त्यसको प्रत्यक्ष असर मोटरसाइकल बजारमा देखियो ।


