काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सको छिट्टै नयाँ मोटरसाइकल बिक्री सुरु गर्ने भएको छ । कम्पनीले नेपालमा बहुप्रतिक्षित रोनीन क्रुजर मोडलको बिक्री सुरु गर्ने तयारी थालेको हो ।
केही दिन अघिमात्रै अपाचे आरटीआर १६० फोर भीको स्पेशल एडिशन सार्वजनिक गरेको कम्पनीले पहिलो क्रुजर मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले अपडेटेड मोटरसाइकल आरटीआर १६० फोर भी स्पेशल एडिशनको मूल्य आकर्षक निर्धारण गरेको थियो ।
अँग्रेजी नयाँ वर्षको आसपास रोनीनको बिक्री सुरु गर्ने तयारी भइरहेको कम्पनीले स्रोतले जानकारी दियो । यसको मूल्य पनि निकै आक्रमक बजार बिस्तार गर्ने रणनीति अनुसार तय गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले मूल्यको बारेमा जानकारी नदिएपनि हाम्रो अनुमानमा ४ लाख १५ हजारदेखि ४ लाख ५० हजार हाराहारी मूल्य कायम हुनेछ । कम्पनीले रोनीनको प्रदर्शनी भने नाडा अटो शो २०२३ मै गरेको थियो ।
यस्तो छ रोनीन
टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।
यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

