मिसन २०३० मा ठूला कार निर्माता

काठमाडौं । विश्वका ठूला कार निर्माताहरु अहिले आफ्नो १०÷१२ वर्षको रणनीति तयार गरेर युद्धमा होमिएका छन् । उनिहरुको युद्ध कुनै बन्दुक र बारुदमा होइन ब्यापारमा हो । त्यसमा पनि पुरानो र नयाँ टेक्नोलोजी बीचको द्धन्द देखिन्छ ।

सन् २०१८ सम्म पनि नेपालमा विद्युतीय कार भनेको साना गाडी भन्ने बुझिन्थ्यो । अहिले नयाँ कार बिक्रीको झण्डै ६० प्रतिशत हिस्सा ईभीले ओगट्न थालेको छ । यसले ईभीको बिक्री कसरी तिब्र गतिमा अगाडि बढेको छ भन्ने कुरा पुष्टि गर्छ ।

विश्वका स्थापित अटोमोवाइल जायन्टदेखि हजारौ स्टार्टपअ कम्पनीहरु प्रत्येक दिन विद्युतीय साधनमा नयाँ कुरा बाहिर ल्याउन लागिपरेका छन् । ईभीकै कारण टेक जाइन्टको उपाधि पाएका कम्पनीहरु कार उत्पादनमा अग्रसर भएका छन् ।

इन्टरनेशनल इनर्जी एजेन्सीले गरेको प्रक्षेपण अनुसार सन् २०३० सम्ममा ईभीको बिक्री हिस्सा ३६ प्रतिशत पुग्नेछ । त्यो भनेको ३ करोड ७० लाख यूनिट बराबर हो ।

अहिले विश्वको विद्युतीय कार बजारलाई चिनियाँ ब्राण्ड बीवाइडी र अमेरिकी ब्राण्ड टेस्लाले नेतृत्व गरिरहेका छन् । तर, केहि वर्षदेखि विश्वमा स्थापित पुराना बलिया कम्पनीहरु पनि ईभी उत्पादनमा आक्रमक योजनासहित अगाडि बढेका छन् ।

विश्वमा सबैभन्दा धेरै निजी कार बिक्री गर्ने जापानी ब्राण्ड टोयोटाले सन् २०३० सम्ममा आफ्नो बिक्रीको ३६ प्रतिशत विद्युतीय साधन हुने बताएको छ । त्यस्तै युरोपियन जायन्ट फक्सवागेन ग्रुपले सन् २०३० सम्ममा कुल बिक्रीको ८० प्रतिशतसम्म ईभी बनाउने योजना अगाडि सारेको छ ।

फक्सवागेन ग्रुपको स्वामित्वमा रहेको पोर्श्चेले ८० प्रतिशत, फक्सवागेन (भीडब्लू)ले ७० प्रतिशत र स्कोडाले ७० प्रतिशत पुर्याउने योजना बनाएका छन् । त्यसैगरी जर्मन लग्जरी ब्राण्ड बीएमडब्लूले सन् २०३० सम्ममा ५० प्रतिशत ईभी उत्पादन र बिक्री गर्नेछ ।

कोरियन ब्राण्ड हुन्डाईले ३६ प्रतिशत, कियाले ३० प्रतिशत र जापनीज ब्राण्ड माज्दाले २५ प्रतिशत ईभी बिक्री गर्ने प्रक्षेपण गरेका छन् । ब्रिटीस ब्राण्ड ज्यागुअरले सन् २०२५ बाटै सबै उत्पादन ईभी गर्ने जनाएको छ ।

त्यस्तै यूरोपियन ब्राण्डहरु भोल्भो, रेनो, बेन्टले, स्टेलान्टीस, अउडीले सन् २०३० सम्ममा आफ्ना सबै उत्पादन ईभी बनाउने छन् । सन् २०३५ सम्ममा भने अमेरिकी ब्राण्ड फोर्ड र जनरल मोटर्सले ईभी मात्रै उत्पादन गर्ने योजना अगाडि सारेका छन् ।

मिनी, होन्डा, ल्याण्ड रोभर र मर्सिडिज जस्ता स्थापित पेट्रोलियम पदार्थबाट चल्ने कार उत्पादनमा महारथ हासिल गरेका ब्राण्डले सन् २०३५ बाट आफ्नो सबै उत्पादन ईभी बनाउने छन् ।


Back_to_top