के हो ‘स्टीर वाइ वायर’ टेक्नोलोजी ? टोयोटालाई पछि पार्दै टेस्लाको गाडीमा प्रयोग

काठमाडौं । टेस्लाको पहिलो पीकअप ‘साइबरट्रक’ सार्वजनिक भएसँगै सबैभन्दा धेरै चर्चा भएको विषय मध्येको एक हो ‘स्टीर वाइ वायर’ टेक्नोलोजी । उक्त टेक्नोलोजीको परिक्षण टोयोटाले विगत ४/५ वर्षअघि नै भइरहेको जनाएको थियो । तर, अहिले टेस्लाले पहिलो पटक निजी कारमा प्रयोग गरेर टोयोटालाई पछाडि धकेलिदिएको हो ।

हुनत टेस्लाले पहिल्यै विश्वका धेरै अटोपण्डितहरुको हावा खुस्काइ दिएको छ । विद्युतीय कारको सफलतासँगै लामो लिगेसी बोकेका कार ब्राण्डलाई धक्का दिदै अगाडि बढ्ने उसको सहासलाई अहिले आएर धेरैले स्विकार गर्न बाध्य भएका छन् ।

यस्तोमा टेस्लाले साइबरट्रक मार्फत एक पटक फेरि ठूला कार निर्माताहरुलाई माथ दिदै आफुले बाजी मारेको छ । यस्तो ठूलो सफलता मानिएको ‘स्टीर वाइ वायर’ टेक्नोलोजी के हो भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । त्यसैले यसको विषय यहाँ प्रस्तुत गरेका हौं ।

के हो स्टीर वाइ वायर टेक्नोलोजी ?

ठ्याक्कै भन्नुपर्दा स्टेरिङ ह्वील र चक्का बीचमा कुनै किसिमको मेकानिकल कनेक्सन बीना गाडी नियन्त्रण गर्न सक्ने टेक्नोलोजी नै स्टीर वाइ वायर हो । यसअघि फर्मुला वान कारमा मात्रै यो टेक्नोलोजी प्रयोग हुँदै आएको थियो ।

टेस्लाले आफ्नो पहिलो पीकअपमा स्टेरिङ कन्ट्रोलका लागि अगाडिको चक्कामा दुईवटा इलेक्ट्रीक मोटर र पछाडिको चक्कामा एउटा इलेक्ट्रीक मोटर दिएको छ ।

परम्परागत स्टेरिङ ह्वीलमा भने स्टेरिङ ह्वील घुमाउदा अगाडि स्टेरिङ र्‍याकमासम्म जोडिएको साफ्ट घुम्छ र फलस्वरुप अगाडिको चक्का दाँया वा वायाँ मोडिन्छ । स्टीर वाइ वायर सिस्टममा भने स्टेरिङ साफ्ट नै हुँदैन ।

यसमा साफ्टको सट्टा इलेक्ट्रीक वायर दिइएको हुन्छ । स्टेरिङ र्‍याकमा भने इलेक्ट्रीक मोटर र कन्ट्रोलर हुन्छ । जसले स्टेरिङ ह्वील घुमाएर दिएको इनपुटको आधारमा कन्ट्रोलले इलेक्ट्रीक मोटरलाई सिंनल दिन्छ । त्यसकै परिणाम गाडीको चक्का चाहेको साइडमा मोडिन्छ ।

यसको प्रयोगले न्यू इनर्जी भेहिकल जसले तत्काललै पूर्ण टर्क प्रदान गर्छन्, ती भेहिकलको पफर्मेन्स राम्रो हुने बताइन्छ । उक्त टेक्नोलोजीले गर्दा स्टेरिङ रेसियो कम हुनाले चालकले स्टेरिङमा लगाउनुपर्ने बल एकदमै कम हुनेछ ।

स्टीर वाइ वायर टेक्नोलोजीको चुनौती

कुनैपनि नयाँ होस् वा पुरानो टेक्नोलोजी सहजतासँगै केही समस्या पनि साथमै लिएर आएका हुन्छन् । यो टेक्नोलोजीमा पनि स्टेरिङ रेसियो कम हुँदा हाइस्पीडमा गाडी दौडाउँदा स्टेरिङ धेरै काटिएर दुर्घटना पो हुने हो कि भन्ने आशंक सुरु भएको छ ।

यसमा रहेको कम्पोनेन्टहरु स्टेरिङ टर्क एक्चुएटर र स्टेरिङ कन्ट्रोल एक्चुएटरले गाडीको स्पीड अनुसार स्टेरिङ रेसियोलाई बढाइ दिन्छ । फलत दुर्घटना हुने सम्भावना हुँदैन ।

यो टेक्नलाेजीमा स्टेरिङ साफ्ट नहुनाले ड्राइभरलाई अझ धेरै स्पेश हुनेछ । साथै हाइ रेसियोको स्टेरिङ इनपुट हुनाले धेरै बल लगाउने र पुरा घुमाउने गर्नु पर्दैन । यस्तोमा स्टेरिङको डिजाइन गोलाकार मात्र नभई योर्क सेपमा पनि प्रयोग गर्न सकिन्छ ।

टोयोटालाई पछाडि धकेल्दै टेस्लाले मार्‍याे बाजी

यसअघि उक्त टेक्नोलोजी टोयोटाको प्रिमियम ब्राण्ड लेक्ससले परिक्षण गरिरहेको समाचारहरु बाहिर आएका थिए । तर, नयाँ टेक्नोलोजी बाहिर ल्याउने मामलामा टेस्लाले बाजी मारेको हो ।


Back_to_top