चीनको भन्दा इन्डोनेशियामा तीन गुणा महंगो विलिङ विङ्गो, नेपालमा कति पर्ला ?

काठमाडौं । विलिङ विङ्गो ह्याचव्याक कार इन्डोनेशियामा सार्वजनिक भएको छ । विलिङ-जीएम-एसएआईसीको संयुक्त लगानीमा बनेको विङ्गो मोडल डिसेम्बर १५ तारिखबाट इन्डोनेशियामा बिक्री सुरु भएको हो ।

विलिङ विङ्गो गत मार्चमा चिनियाँ बजारमा बिक्री सुरु भएको थियो । चिनियाँ बजारमा ८ हजार ४०० देखि १२ हजार ५०० डलरसम्म मूल्य तोकेर बिक्री हुँदै आएको विङ्गो मोडल इन्डोनेशियामा २३ हजारदेखि २६ हजार डलरसम्म तोकिएको हो ।

चीनको तुलनामा इन्डोनेशियामा विङ्गो मोडलको मूल्य तीन गुणा बढी छ । नेपाली बजारमा पनि चाँडै ल्याउने तयारी भएको विङ्गो ह्याचव्याक कति मूल्यमा आउँछ, अहिल्यै भन्न सकिने अवस्था छैन ।

नेपाल आउन लागेको विलिङ विङ्गोे एक प्रिमियम ह्याचव्याक कार हो । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ । यसमा २५६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

विलिङ विङ्गोे दुई डिजिटल स्कृनको साथ आउने छ । यसमा ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर छ । साथै, सूचना र मनोरन्जनको लागि १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्कृन पाउन सकिन्छ ।

विलिङले विङ्गो मोडललाई इन्डोनेशियाली बजारमा ३१.९ र ३७.९ किलोवाट आवरको दुई फरक साइजमा ‘लिथियम फेरो फस्फेट’ ब्याट्रीमा उपलब्ध गराएको छ ।

सानो साइजको ३१.९ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ३३३ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । साथै, लङ रेन्ज मोडलले ४१० किलोमिटर दिने कम्पनीले दावी गरेको छ । यसमा रहेको ब्याट्रीलाई रिचार्ज गर्न ३० किलोवाटको डीसी फास्ट चार्जरले ३५ मिनेट र एसी चार्जरलाई ९.५ घण्टासम्म लाग्छ ।

विलिङले प्रिमियम ह्याचव्याकमा १५ इन्चको ह्वील दिएको छ । विङ्गोे मोडलमा ४९ किलोवाटको मोटर छ । जुन नेपालमा सबैभन्दा कम कर लाग्ने मोटर सेग्मेन्टमा पर्छ । यसको पीकटर्क भने १५० न्यूटन मिटर रहेको छ । फ्रन्ट ह्वील ड्राइभ मोटर सेटअप भएको विङ्गोको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहको छ ।

नेपाली बजारमा ३० देखि ३५ लाख भित्रै आउने अनुमान गरिएको विङ्गो मोडल इन्डोनेशियाको मूल्यपछि अनुमान लगाउनै कठिन भएको छ ।


Back_to_top