काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले लेभल-३ अटोनोमस ड्राइभिङ सिस्टमको परिक्षण गर्ने अनुमति पाएको छ । कम्पनीले जुलाई २१ मा नै परिक्षण अनुमति पाएपनि भर्खर समाचार बाहिर आएको हो ।
अनुमति प्राप्त गरेसँगै कम्पनीले अब यसको परिक्षण हाइवे र एक्सप्रेसवेमा गर्न पाउने छ । लेभल-३ अटोनोमस ड्राइभिङ सिस्टम परिक्षणको अनुमाति पाउने बीवाइडी पहिलो चिनियाँ कम्पनी हो ।
कम्पनीले गर्ने परिक्षण चीन सरकारले तोकेको कार्यालय र एक्सपर्टहरुको टोलीले गर्नेछ । बीवाइडीले नयाँ टेक्नोलोजी विकासमा १० हजार अनुषन्धनाकर्ता लागि परेको र विश्वकै पहिलो ‘भेहिकल कमप्यूटिङ प्लेटफर्म डिजाइन’ तयार भएको जनाएको छ ।
यसका अलावा कम्पनीले धेरै स्थानमा नयाँ टेक्नोलोजी विकासको लागि काम गरिरहेको जनाएको छ । अहिले बीवाइडीले परिक्षण गरिरहेको एल-३ पूर्ण सेल्फ ड्राइभिङ टेक्नोलोजी भने होइन । अहिले विश्वमा एल-४ सम्म परिक्षण चलिरहेको छ । चालक रहित कार भने एल-५ मा मात्रै तयार हुने बताइन्छ ।


