काठमाडौं । आर्थिक मन्दीको कारण नेपालमा गाडी बिक्री गर्न सक्ने अवस्था नरहेको भन्दै नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर ‘रि-एक्स्पोर्ट’को ढोका खुल्ला गर्न माग गरेका छन् ।
नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्रीसँग भेटेर भन्सार विन्दुमा आएर थन्केका सवारीसाधन तत्काल छुटाएर ल्याएपनि बिक्री गर्ने अवस्था नभएको कारण निर्यातको बाटो खोल्न आग्रह गरेको हो ।
छलफलमा नाडा अध्यक्ष थापाले भने, ‘अहिलेको अवस्थामा सवारी साधनको बजार माग अति न्युन छ । अहिलेसम्म १६०० यूनिट हाराहारी ढुवानीका साधन हामीले ल्याएका छौं । अझै धेरै गाडी छ, व्यवसायीहरुले पार्किङ्ग शूल्क बापत करोडौं रकम तिरी नै रहेका छौं । हामीले गरेको पुरानो अर्डर पनि ल्याउनै पर्ने भएको कारण अफ्ठ्यारो अवस्था आयो । यी गाडीलाई तेस्रो देशमा निर्यात गर्ने कानुनी बाटो खोलिदनु प¥यो ।’
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बिक्री हुन नसकी भन्सार विन्दुहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुलाई कुनै पनि मुलुकमा रि-एक्सपोर्ट गर्न सकिने व्यवस्थाको परिकल्पना आर्थिक ऐनले गरेकोले त्यसको कार्यान्वयन गर्न अर्थमन्त्रीलाई आग्रह गरे ।
त्यसैगरी नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपाल मै उत्पादन हुने सवै किसिमका ब्याट्री र टायरहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था गर्न आग्रह गरे ।


