काठमाडौं । अमेरिकी प्रिमियम ईभी कम्पनी टेस्लाले भारतमा प्लान्ट राख्ने चर्चा चलेको धेरै भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ इलन मस्कलाई भेटेपछि भारतमा टेस्लाका कार उत्पादन हुने चर्चा सुरु भएको थियो ।
टेस्लाको खस्कदो बिक्री र केहि समय अगाडि इलन मस्कले गर्ने भनिएको भारत भ्रमण स्थगित भएसँगै टेस्लाको भारतमा प्लान्ट स्थापना गर्ने योजना अड्केको अनुमान गर्न थालिएको छ ।
सन् २०२४ को पहिलो क्वाटरको रिपोर्टमा ५५ प्रतिशत आम्दानी घटेसँगै टेस्लाले आर्थिक क्षती ब्योहोर्नु परेको छ । विश्वव्यापी ईभीको बिक्रीमा आएको गिरावट र चिनियाँ ईभी ब्राण्डले दिएको चुनौतीको कारण बिक्री घटेपछि कम्पनी समस्यामा परेको देखिन्छ ।
हालै मात्र टेस्लाले आफ्नो १० प्रतिशत कामदारलाई हटाएको छ । छिट्टै थप ६ हजार जनालाई निकाल्ने योजना बनाएको छ । कम्पनीनै समस्यामा परेपछि टेस्लाको भारत लगायत अन्य देशहरुमा हुने भनिएको विस्तार योजना रोकिने भएको हो ।
प्रारम्भिक रिपोर्टहरुका अनुसार टेस्लाले भारतमा २ बिलियन डलर लगानी गरी उत्पादन प्लान्ट बनाउने खबरहरु बाहिर आएको थियो । तर, पहिलो क्वाटरको खराब रिपोर्टपछि टेस्लाको योजना ढिलो हुने भएको हो ।

