काठमाडौं । सन् २०२१ देखि २०२४ को सुरुवातसम्म विद्युतीय कार निर्माताहरु बीच ‘प्राइस वार’ चलेको देखिन्थ्यो । कुनै पनि ब्राण्डले फिचर अपडेट गरेर ल्याउने मोडलको मूल्यसमेत निरन्तर घटाउने प्रतिस्पर्धा चलेको थियो ।
अमेरिकी ईभी जाइन्ट टेस्लादेखि चिनियाँ न्यू इनर्जी भेहिकल किङ बीवाइडी सहितका ब्राण्डहरु मूल्य कटौतिमा लागे । त्यसले एकपछि अर्को नयाँ आउने मोडलको मूल्य कम पर्दै आएको थियो ।
अब भने मूल्य कटौति श्रृखला सकिएको अनुमान हुन थालेको छ । टेस्लादेखि बीवाइडीले आफ्ना पछिल्ला अपडेट भएका मोडलको मूल्य बढाउन थालेका छन् । यसरी मूल्य वृद्धिका पछाडि केही कारण भने देखिएका छन् ।
यूरोप र अमेरिकाको तुलनामा चीनमा बन्ने ईभीहरुको लागतमा ४० देखि ५० प्रतिशत कम भएको बताइन्छ । यसले चिनियाँ ईभीहरुलाई विश्व बजारमा आक्रमक बिस्तारमा सहयोग पुग्यो । अहिले पनि चीन सरकारले दिने अनुदानसहितका कारण देखाउँदै पश्चिमा देशहरुले करका दरहरु वृद्धि गरेको छ ।
यूरोप र अमेरिकामा ट्याक्स वृद्धिसँगै कारको बिक्रीमा आउने सक्ने गिरावटलाई मध्यनजर गर्दै कम्पनीहरुले मूल्य स्थीर राख्ने वा हल्का बढाउने योजना अगाडि बढाएका हुन सक्छन् ।
अर्को चीनका कार उत्पादन गर्ने बीवाइडी र एलआई अटो बाहेक अन्य कुनै पनि न्यू इनर्जी भेहिकल निर्माता कम्पनीले नाफा कमाउन नसक्नुको कारण पनि चीन सरकारले नै मूल्य कटौतिललाई निरुत्साहन गरिरहेको छ । त्यसकै फलस्वरुप चिनियाँ ब्राण्डका उत्पादन प्राइस वारबाट बाहिर निस्कन लागेको अनुमान गर्न सकिन्छ ।
नयाँ रिसर्च एण्ड डेभलपमेन्टमा थप लागनी गर्ने बाटोमा कम्पनीहरु अग्रसर हुँदा पनि मूल्य स्थीर वा बढाउने निर्णयमा उत्पादकहरु पुगेको हुनुपर्छ । अहिले पनि यूरोप र अमेरिकी कार निर्माताले ठूलो घाटा खाएर ईभी बिक्री गर्दै आएका छन् । यस्तोमा प्राइस वारबाट बाहिर निस्केर अगाडि बढ्नु सबैले बुद्धिमानी सम्झेको हुनुपर्छ ।


