काठमाडौं । नाडा अटो शो २०२४ मा पहिलो पटक विद्युतीय सवारीसाधनमा स्कीम आउने सक्ने देखिएको छ । यसअघि कम्पनीले विद्युतीय साधनमा साना तीना स्कीम दिएपनि पेट्रोल कारको जस्तो स्कीम ल्याएका छैनन् ।
यस पटकको अटो शोबाट विद्युतीय साधनमा पनि राम्रा स्कीम ग्राहकले पाउन सक्ने देखिन्छ । अहिले बजारमा करिब २० वटा हाराहारी ब्राण्डले विद्युतीय साधन ल्याउन थालेका छन् । विशेषगरी २० लाखदेखि ८० लाख मूल्यका ईभीमा चर्को प्रतिस्पर्धा सुरु भएको कारण स्कीम आउन सक्ने देखिएको हो ।
अहिले सबै कम्पनीहरु आफ्नो नाडामा उपस्थिति कस्तो बनाउने भनेर आन्तरिक तयारीमा छन् । कुनै पनि कम्पनीले ठोस योजना अगाडि सारेका छैनन् । यस्तोमा अहिले कस्तो किसिमको स्कीम आउँछ भन्ने एकिन भन्न सक्ने अवस्था छैन । तर, हरेक सेग्मेन्टमा चर्को प्रतिस्पर्धा देखिएको कारण राम्रो स्कीमहरु भने पक्कै आउने छन् ।
‘पहिला हातोहात बिक्री हुने विद्युतीय साधन अहिले स्टक लिएर हिड्नु पर्ने अवस्था आएको छ । सुरुमा सप्लाई कम थियो, अहिले सप्लाईमा समस्या छैन । सबैलाई नम्बर निकाल्नु पर्ने छ । त्यसैले स्कीमहरु ल्याउनु पर्छ होला’, एक बिक्रेताले भने ।
नाडा अटो शोमा विद्युतीय गाडी लिएर टाटा, बीवाइडी, ओमोडा, एमजी, सेरेस, दिपल, जेको, केई, महिन्द्रा, हुन्डाई, हेनरी, जिकर, स्काइवेल, रेडारा, एक्सपेङ, अवतार, लिप मोटर्स जस्ता ब्राण्डहरु सहभागि हुँदैछन् ।
यी कम्पनीहरुले बिक्री गर्ने विभिन्न मोडलमा ग्राहकले स्कीम पाउन सक्ने देखिन्छ । ठ्याक्कै कस्ता किसिमका स्कीम आउँछन् भन्ने थाहापाउन केही दिन अझै कुर्नु पर्ने हुन्छ ।

