बेलायती टु–ह्वीलर कम्पनी रोयल इन्–फिल्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो व्यापारिक पहुँच बढाउँदै लगेको छ । ३५० देखि ७०० सीसी क्षमताको मोटरसाइकल उत्पादन गर्दैआएको कम्पनीको मोडलप्रति ग्राहकको आकर्षण क्रमिकरुपमा बढ्दै गएको छ ।
विशेषतः युवापुस्ताको मागअनुरुपका उत्पादनमा जोड दिने रोयल इन्–फिल्डले करिब १८ महिनाको अवधिमा आकर्षक डिजाइन तथा विशेषता समेटिएका विभिन्न मोडल बजारमा ल्यायो । यद्यपि, अपेक्षाकृतरुपमा बुकिङ्ग नभएपछि ती मोटरसाइकलले बजार लिन सकेनन् ।
कम्पनीले ३५० देखि ५०० सीसी सेग्मेन्टका मोटरसाइकलको सङ्ख्यात्मकरुपमा व्यापारमा वृद्धि हुन नसकेको निश्कर्ष निकालेको छ । साथै, चालकको सुरक्षाको लागि मोटरसाइकलमा समावेश गरिएको एबीएसको विशेषताको कारण मोडलको मूल्य वृद्धि भएको र सोही कारण व्यापारमा ह्रास आएको समेत कम्पनीले जनाएको छ ।
कम्पनीले सोही विषयलाई ध्यानमा राख्दै आगामी ३ देखि ५ वर्षभित्र झन्डै एक दर्जन नयाँ प्रोडक्ट बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका सीईओ, सिदलालले नयाँ ग्राहकलाई आकर्षित गर्ने उद्देश्यसहित समायोजित मूल्यमा नयाँ प्रोडक्ट ल्याउने तयारी गरिएको जानकारी दिएका हुन् ।
ती मोटरसाइकलमा ३५० देखि ६५० सीसी क्षमताको इन्जिन लगाउने उनले बताए । साथै, रोयल इन्–फिल्डले नयाँ जेनेरेशनमा आधारित क्लासिक, थन्डरवर्ड र हिमालयन मोडलाई बीएस–६ को मापदन्डअनुसार परिमार्जन गर्ने तयारी गरेको छ । कम्पनीले आगामी दिनमा जे र क्यू अवधारणाका मोटरसाइकल बजारमा ल्याउने तयारीलाई तिव्र बनाएको छ ।

