काठमाडौं । बीवाइडीको सबैभन्दा सानो कार सिगल चिनियाँ बजारमा सबैभन्दा धेरै बिक्री हुने कार बन्न सफल भएको छ । सन् २०२४ को अगष्टमा ४६ हजार ८३० यूनिट बिक्री हुँदै चीनमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको हो ।
सिगल गत महिना परम्परागत ग्यासोलिन तथा न्यू इनर्जी भेहिकलहरूमा सबैभन्दा धेरै बिक्री भएकाे मोडल हो । चिनियाँ बजारमा बिक्री भइरहेका बीवाइडीका कारमध्ये सबैभन्दा सस्ताे मूल्यकाे सिगलको सुरूआती मूल्य १० हजार डलरभन्दा कम छ ।
३०.०८ किलोवाट आवरको ब्याट्रीप्याक रहेको सिगलले सिंगल चार्जमा ३०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । सिगलको ३८.८८ किलोवाट आवरको ब्याट्री अप्सनलाई करिब १२ हजार डलर पर्नेछ । जसले ४०५ किलोमिटर सम्मको सीएलटीसी रेन्ज दिन्छ ।

चिनियाँ अटाे बजारमा बीवाइडीको वर्चश्व रहेको छ । गत महिना सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० कारमध्ये बीवाइडीका मात्रै ७ वटा मोडल रहेका छन् । बीवाइडीको क्वीन प्लस ४२ हजार ७६५ युनिट बिक्री हुँदै दोस्रो स्थानमा रहेको छ भने सोङ्ग प्लस ३९ हजार ७९९ युनिटसहित तेस्रो स्थानमा छ ।
बीवाइडीले गत महिना ३ लाख ७३ हजार युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको छ । जसमा १ लाख ४८ हजार ४७० युनिट फुल्ली इलेक्टिक भेहिकल रहेका छन् भने बाहि प्लगइन हाइब्रिड कार हुन् ।
बीवाइडीको सिगल लेफ्ट ह्याण्ड ड्राइभमा मात्र उत्पादन भइरहेको छ । कम्पनीले आगामी वर्षबदेखि बीवाइडी सिगल तथा एटो २ राइटह्याण्ड ड्राइभमा समेत उत्पादन गर्ने योजना बनाएको छ । राइटह्याण्ड डाइभ मोडलको उत्पादनपछि दुवै कार नेपालमा समेत छिटै बिक्री हुने अनुमान गरिएको छ ।


