काठमाडौं । जापानीज अटोमोवाइल कम्पनी मित्सुबिसीले आउटल्याण्डर प्लगइन हाइब्रिड २०२५ मोडलमा फिचरहरु थप गरेको छ । कम्पनीले चौथो जेनेरेशनको आउटल्याण्डर पीएचइभीको एक्टेरियरमा खासै परिवर्तन नगरेता पनि पावर ट्रेन, ब्याट्री साइज र इन्फोटेन्मेन्ट स्कृनमा ठूलो अपग्रेड गरेको हो ।
युरोपियन बजारमा डेब्यू भएको आउटल्याण्डर प्लगइन हाइब्रिडमा यसअघिको २० किलोवाट आवरको ब्याट्री प्याकलाई हटाएर २२.७ किलोवाट अवारको नयाँ ब्याट्री प्याक दिएको हो । थपिएको ब्याट्री साइजले अब आउटल्याण्डरको इलेक्ट्रीक मात्रैले ८६ किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ । अब फुल ट्याङ्की पेट्रोल र फुल चार्ज ब्याट्रीले आउटल्याण्डरलाई ८४४ किलोमिटरसम्म चलाउन सकिन्छ ।
मित्सुवीसी आउटल्याण्डर एसयूभीमा कम्बस्चन इन्जिन भने पहिलाकै २.४ लिटर, नेचुरल एस्पिरेटेड रहेको छ । इन्जिन र दुई इलेक्ट्रीक मोटरको सहायताले गाडीको संयुक्त पावर ३०२ पीएस पुग्छ । मित्सुबिशीले एस डब्लुएसी अल ह्वील ड्राइभ सिस्टमलाई पनि सुधारेर ल्याएकोले राम्रो ट्रयाक्सन कन्ट्रोल पाइने कम्पनीको दावी छ ।
नयाँ आउटल्याण्डरमा एक्टीभ सटर भएको रिभाइज्ड ग्रिल, रियर लाइटमा केही परिवर्तन गरिएको छ । यसमा २० इन्चको नयाँ डिजाइनको ह्वील पहिला दिइएको ९ इन्चको इन्फोटेन्मेन्ट स्कृनको सट्टामा १२.३ इन्चको स्कृन थपिएको छ । यसका साथै अब आउटल्याण्डरको नयाँ अडियो सिस्टम समेत आएको छ ।
मित्सुबिशीले नयाँ आउटल्याण्डर पीएचइभी आगामी वर्षको पहिलो क्वाटरबाट बिक्री गर्ने बताएको छ । यसअघिको आउटल्याण्डर प्लगइन हाइब्रिड कारले नेपालमा राम्रो ब्यापार गरेको कारण नयाँ मोडल पनि चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ ।

