काठमाडौं । चिनियाँ बजारमा विद्युतीय कार उत्पादनमा तिब्र प्रतिस्पर्धा गर्दै आएका ब्राण्डहरु अहिले प्लगइन हाइब्रिड र रेन्ज एक्सटेन्डरतर्फ मोडिएका छन् । सन् २०२३ मा चीनमा कुल कार बिक्रीको ३६ प्रतिशत न्यू इनर्जी भेहिकल थियो । त्यसमा ५० प्रतिशत माथि प्योर ब्याट्री इलेक्ट्रीक रहेकोमा अहिले त्यो संख्यामा उच्च गिरावट आएको हो ।
चाइना डेली पोष्टका अनुसार रेन्ज इन्जाइटीका कारण लामो यात्रा गर्ने मानिसले ईभीको सट्टामा हाइब्रिड गाडी रोज्दा हाइब्रिड कारको बिक्री बढेको हो । बजार मागसँगै उत्पादकहरुको रोजाई पनि हाइब्रिड र रेन्ज एक्सटेन्डर भेहिकलहरु पर्न थालेका छन् ।
चीनकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीको हाइब्रिड कारको हिस्सा ६० प्रतिशत माथि पुगेको छ । जबकी अघिल्लो वर्ष ५० प्रतिशत प्योर इलेक्ट्रीक र त्यति नै हाइब्रिड कार उसले बेचेको थियो ।
चांगन, चेरी, जिली जस्ता ब्राण्डले पनि इलेक्ट्रीक कारभन्दा धेरै हाइब्रिड र रेन्ज एक्सटेन्डरमा आफुलाई केन्द्रित गर्दा बीवाइडी आफ्नो डीएमआई टेक्नोलोजीलाई अपग्रेड गरेर अगाडि बढी रहेको छ ।
यूरोपीयन कार निर्मातादेखि जापानी निर्माताहरुको रोजाईमा पनि हाइब्रिड मोडल नै परेको छ । त्यसैले त हाइब्रिड टेक्नोलोजीमा पनि कम्पनीहरु बीच तिब्र प्रतिस्पर्धा चलिरहेको छ । जापानी ब्राण्ड टोयोटाले सन् २०२३ मा ३६ लाख हाइब्रिड कार बिक्री गरेको थियो । उसले सन् २०२४ मा करिब ५० लाख हाइब्रिड मोडलहरु बिक्री गर्ने लक्ष्य राखेको छ ।
विद्युतीय कारलाई रिचार्ज गर्न लामो समय लाग्ने भएको कारण निर्माता कम्पनीहरु बैकल्पीक उर्जाबाट चल्ने र क्लीन इनर्जीको प्रयोग हुने प्रविधिको खोजिमा निरन्तर छन् । उनिहरुले पेट्रोलको विकल्पमा तत्काल हाइब्रिड टेक्नोलोजी उपयुक्त हुने बताउँदै आएका थिए । तर, चीनले विश्व अटोमोवाइललाई लिड गर्दै विद्युतीय कारमा नयाँ क्रान्ति नै गर्यो भन्न सकिन्छ ।
अहिले ईभीको जन्मभूमीमा नै हाइब्रिडको उच्च माग र बिक्री भएसँगै ईभी मात्रै उत्पादन गर्ने सोचका साथ स्थापना भएका स्टार्टअप ब्राण्डहरुलाई ठूलै धक्का लाग्ने देखिन्छ ।


