नोभेम्बर ४ मा रोयल इनफिल्डले इलेक्ट्रीक मोटरसाइकल देखाउने

काठमाडौं । मोटरसाइकल उत्पादनमा अलग इतिहास बनाएको पुरानो कम्पनी रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल नोभेम्बर ४ तारिखमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले आधिकारिक रुपमा सोसल मिडिया (इन्स्टाग्राम) मार्फत एक टीजर सार्वजनिक गर्दै आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल तयार भएको र नोभेम्बर ४ तारिखमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

रोयल इनफिल्डले आफ्नो इलेक्ट्रीक सेग्मेन्टका लागि डेडिकेटेड वेबसाइटका साथै नयाँ इन्स्टाग्राम पेजसमेत तयार गरेको छ ।
पहिलो पटक सन् २०२२ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको थियो । कम्पनीले नयाँ इलेक्ट्रीक प्लेटफर्ममा नै मोटरसाइकल ल्याउन लागेको हो ।

रोयल इनफिल्डको इलेक्ट्रीक मोटरसाइकलको डिजाइन पहिलै लिक भएपनि अन्य डिटेल्स भने अहिलेसम्म बाहिर आएको छैन । भारतीय मिडिया अनुसार, यस मोटरसाइकलमा नयाँ चेसिस फ्रेम प्रयोग हुनेछ ।

झट्ट हेर्दा हार्ले डेभिडसन क्रुजर जस्तै देखिने यस मोटरसाइकलको ट्याकं एरियामा कभरसहितको ब्याट्री र मोटर हुनेछ । यसमा बेल्ट ड्राइभ दायाँ भागमा हुने अनुमान छ । साथै, डबल डिस्क ब्रेक, एबीएस, आकर्षक मोनोसक सस्पेन्सन सेटअप, अलोय ह्वील, सबै एलइडी लाइट, डिजिटल कन्सोल रहने छ ।


Back_to_top