काठमाडौं । कार चार्ज गर्ने डिसी फास्ट चार्जरबाटै मोटरसाइकल चार्ज गर्न मिल्ने भएको छ । भारतको चेन्नईमा उत्पादन प्लान्ट लगाएको दुई पाङग्रे इलेक्ट्रीक स्टार्टअप कम्पनी ‘राप्ती डट एचभी’ले यस्तो मोटरसाइकल ल्याएको हो ।
कम्पनीले भारतीय बजारमा ‘टी-१३०’ नामक इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । सीसीएस टु चार्जिङ पोर्ट प्रयोग गरेर ल्याएको मोटरसाइकललाई एसी र डिसी दुबै चार्जरको प्रयोग गरेर चार्ज गर्न सकिन्छ ।
स्टार्टअप कम्पनीले ल्याएको इलेक्ट्रीक मोटरसाइकल नयाँ टेक्नोलोजी, आधुनिक फिचर र आकर्षक डिजाइनमा उपलब्ध भएको छ । यसलाई जस्तोसुकै हाई भोल्टेज कार चार्जिङ स्टेसनमा पनि चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
कम्पनीले टी-१३० मोटरसाइकलमा आइपी ६७ रेटेड ५.४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । यसलाई नियमित कार चार्जिङ स्टेशनमा फुलचार्ज गर्न ४० मिनेट लाग्ने छ । आईडीसी प्रमाणित रेन्ज अनुसार एक पटकको फुल चार्ज टी-१३० लाई १५० देखि २०० किलोमिटरसम्म चलाउन सकिने छ ।
त्यस्तै, कम्पनीले यसमा २२ किलोवाटको पीक पावर प्रदान गर्ने पावरफुल मोटर दिएको छ । यसले मात्रै ३.६ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घण्टाको रफ्तार पकड्ने छ । यस मोटरसाइकलको टप स्पीड भने १३५ किलोमिटर प्रति घण्टा छ ।
हाई भोल्टेज एचभी टेक्नोलोजी र नयाँ फ्रेममा निर्माण भएको यस मोटरसाइकलमा युनिभर्सल चार्जिङ सिस्टम, नर्मल र फास्ट अप्सन सहितको चार्जर दिइएको छ ।
त्यसैगरी मोटरसाइकलमा मस्कुलर ट्याकं, स्पोर्ट क्रुजर टाइपको अपराइट ह्यान्डलबार, ब्याक फुटपेगस्, तीन राइभिङ मोड, डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस, अलोय ह्वील, अपसाइड डाउन युएसडी फर्क र मोनोसक सस्पेन्सन सेटअप प्रयोग गरेको छ ।
कम्पनीले एड्भान्स सफ्ट्वेर फिचरको रुपमा यसमा इन हाउस डेभलप गरिएको इलेक्ट्रोनिक्स र कस्टम बिल्ट अपरेटिंग सिस्टमको प्रयोग गरेको छ । आकर्षक हेडल्याम्प, एलइडी डिआरएल, डिजिटल टीएफटी टच डिस्प्ले, नेभिगेसन, एप सहितको ब्लूटुथ कनेक्टिभिटी सिस्टम पाउन सकिन्छ ।
सुरुमा १३ हजार ५०० युनिट मात्रै निर्माण भएको टी-१३० मोटरसाइकलको मूल्य भारतमा एक्स शोरुम २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।


