विश्वको सबैभन्दा सुरक्षित यातायातका साधन हवाई जहाजलाई मानिन्छ । छिटो र आरामदायी यात्राका लागि सबैले हवाई यात्रालाई प्रयोग गर्छन् । विश्व आकाशमा प्रतिदिन लाखौ हवाईजहाजहरु उडान र अबतरण गरिरहेका हुन्छन् ।
सुरक्षित यातायात भएता पनि हवाई दुर्घटनामा एकै पटक धेरै यात्रुहरुको मृत्यु हुने भएकोले विश्वभर त्यसको समाचार बन्ने गर्छ । आकाशमा उडिरहेको जहाज जमिनमा बजारिदा प्रायः विमानमा यात्रा गरिरहेका सबै व्यक्तिको मृत्यु हुने गरेको छ ।
हवाई दुर्घटनाको तथ्यांक केलाउदा धेरै प्रतिशत टेकअप र ल्याण्डिङको समयमा हुने गरेको छ । त्यसैले उडान र अवतरणका क्रममा क्याविन क्रुले विषेश सतर्कता अपनाउदै विभिन्न सुरक्षा सम्बन्धी सिटबेल्ट बाध्ने, अगाडिको ट्रे तथा सिट ओरिजीनल पोजिसनमा राख्ने, जहाजका सबै झ्यालहरु खेल्ने तथा इलेक्ट्रोनीक्स सामानहरु प्रयोग नगर्ने जस्ता निर्देशनहरु दिने गरेका छन् ।
हवाई दुर्घटनामा बाच्ने सम्भावना एकदमै कम भएता पनि केही कारणले गर्दा बाच्ने सम्भावना अरुभन्दा बढी हुने रिसर्च रिपोर्टहरुले देखाएको छ । जस्तो नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गतवर्ष भएको युएस बाङ्लाको विमानमा केही यात्रुहरु बाँच्न सफल भएका थिए ।
धेरै व्यक्तिको ज्यान गएको उक्त डरलाग्दो दुर्घटनामा केही व्यक्तिरु भाग्यले मात्र बच्न सफल भएका होईनन् । त्यसका केही विषेश कारण पक्कै पनि रहेको थियो । यहाँ हामीले हवाई दुर्घटनामा अन्य दाँजोमा बाच्न सकिने केही विषेश अवस्थाको चर्चा गरेका छौ ।
१, एक्जिट नजिकको सिट छान्ने
अन्तर्राष्ट्रिय विमान उड्नु पूर्व आपतकालीन अवस्थामा कसरी सुरक्षित रहने भनेर डेमोस्ट्रेसन देखाउने गरिन्छ । सोही समयमा आपतकालीन अवस्थामा विमानबाट बाहिर निस्कने ढोकाहरु कहाँ–कहाँ छ भनेर जानकारी दिने गरिएको हुन्छ ।
प्रत्येक विमानमा यदि आधा ढोका बन्ध भएपनि विमानबाट सबै यात्रुहरु ९० सेकेन्ड भित्र ओर्लन सक्नेगरि इमर्जेन्सी एक्जिट डोरहरुको व्यवस्था गरिएको हुन्छ । त्यसकारण कुनै पनि जहाज जमिन वा पानीमा दुर्घटना भएको अवस्थामा इमर्जेन्सी एक्जिट नजीक बसेका यात्रुहरु सबभन्दा पहिला जहाजबाट टाढा पूग्ने सम्भावना रहन्छ ।
दुर्घटनामा जहाजमा आगोनै लागेता पनि केही सेकेन्डमै बाहिर जान सकियो भने बच्ने सम्भावना धेरै रहन्छ ।
२. आफू र नजिकको एक्जिटबीचको सिट संख्या याद गर्नु
आफू बसेको स्थान र नजिकको इमर्जेन्सी एक्जिटबीचको सिट संख्या याद गर्नाले कहिले कही दुर्घटनामा धुवाँ तथा लाईट नहुने जस्ता कारणले बाहिर निस्कनमा हुनसक्ने अलमलबाट मुक्ति पाउन सकिन्छ ।
राम्रोसँग आँखा नदेखिएको अवस्थामा छामेर पनि इमर्जेन्सी एक्जिटसम्म पुग्न सकिने हुनसक्छ । इमर्जेन्सी एक्जिट यादगर्दा नजिकको अगाडि अथवा पछाडि दुवै तर्फको याद गर्नु पर्छ । एकतिर सबै लाईन लागिरहेको अवस्थामा अर्को तिरको इमर्जेन्सी एक्जिट खाली पनि हुन सक्छ ।

३. सेफ्टी ब्रिफिङमा राम्रोसँग सुन्ने बानी गर्नु
अनिर्वायरुपमा गरिने सेफ्टी ब्रिफिङलाई प्रायः यात्रुहरुले त्यति वास्ता गरेका हुदैनन् । तपाईले दर्जनौ पटक हवाई यात्रा गर्नु भएको छ र तपाईलाई सुरुमा देखाउने सिटबेल्ट बाध्न र खोल्न पहिलानै आउछ भने पनि सेफ्टी इन्स्टक्सन राम्रोसँग ध्यान दिएर हेर्न उत्तम हुन्छ । किनकी दुर्घटनाको बेलामा हतारमा जानिरहेको कुरापनि बिर्षन सकिन्छ । सेफ्टी डेमो हेरेमा कम्तीमा पनि क्रयास ल्याण्डिङ भएको समयमा ‘ब्रेस’ पोजीसन कसरी लिने र आफूलाई ठूलो जोखिम र चोटपटक लाग्नबाट कसरी बच्ने जस्ता कुराहरु सिक्न सकिन्छ ।
४. लाईफ ज्याकेट कहाँहुन्छ यादगर्ने
उडानको क्रममा कहिले काही विमानको दुबै इन्जिनमा खरावी आएमा ठूला नदी अथवा समुद्र्रमा ल्याण्डिङ गरिएका धेरै उदाहरणहरु रहेका छन् । लाईफ ज्याकेटको प्रयोगले यूएस एअरवेजको फ्लाईट नम्बर १५४९ न्यूयोर्कको हडसन रिभरमा ल्याण्डगर्दा पनि सबै यात्रुको सफल उद्धार गरिएको थियो ।
प्रत्येक अन्तर्राष्ट्रिय हवाइ उडान गर्ने जहाजमा सबै यात्रुहरुका लागि छुट्टा छुट्टै लाइफ ज्याकेटको व्यवस्था गरिएको हुन्छ । सेफ्टी ब्रिफिङमा लाईफ ज्याकेट कहाँ राखिएको हुन्छ र कसरी प्रयोग गर्नुपर्छ भनेर सिकाईएको हुन्छ । प्रायः सबै जसो विमानमा लाईफ ज्याकेट यात्रुहरुको सिट मुनी राखिएको हुन्छ । आफ्नो सीटको मुनी हातले छामेमा सानो बक्सजस्तो भेट्टाउन सकिन्छ ।
५. कम्फर्टएवल जुत्ता तथ आगोले छिटै नटिप्ने लुगा लगाउने
हवाई यात्रामा सँधै आरामदायी जुत्ता लगाउने गर्नु पर्छ । हाईहिल भएका तथा गरुड्गा जुत्ताहरु नलगाउदा राम्रो मानिन्छ । एयर क्रयासमा इभ्याकुएसनको अवस्थामा यस्ता हाईहिल तथा गरुडगा जुत्ताहरुले लडाउन सक्छ ।
दुर्घटनाको अवस्थामा इमर्जेन्सी एक्जिटसम्म पुग्ने बाटामा धारीला तथा च्यातीएका मेटलहरु, आगोका लप्काहरु वा यात्रुहरुकै अन्य सामानहरु छरिरहेका हुन सक्छन् । यस्ता सामाग्रीहरुले घाउचोट लगाउने र अगाडी बढ्न अवरोध गर्नसक्छ । अझ सकिन्छ भने, हाफ पाइन्ट तथा टिसर्टको सट्टामा फुल पाईन्ट तथा फूल सिल्भ भएका लुगाहरु लगाएमा आपतकालीन अवस्थामा घाउचोट लाग्नबाट जोगिन सकिन्छ ।
६. टेकअफ र ल्याण्डिङका समयमा नसुत्ने
बोइङ् कम्पनीले २००७ देखि २०१६ सम्मका कमर्सीयल जेट दुर्घटनाको तथ्यांकको अध्ययन गरि ल्याएको रिपोर्टका अनुसार विश्वका १३ प्रतिसत दुर्घटना टेकअफ र इनिसीयल क्लाइम्बीङका समयमा त्यस्तै ४८ प्रतिसत दुर्घटना फाईनल अप्रोच तथा ल्याण्डिङका बेलामा भएको देखिएको थियो ।
मध्य आकासमा दुर्घटनाको हिस्सा निकै कम रहेको देखिएको थियो । उक्त तथ्यांकको आधारमा हेर्दा बढी दुर्घटना टेकअफ र ल्याण्डिडका समयमा हुने गरेको कारणले सो समयमा निदाउने तथा अन्य कुराहरुमा व्यस्त रहनुको सट्टा हाई अलर्ट भएर बस्नु राम्रो हुन्छ ।
७. इमर्जेन्सीका समयमा सामान छाड्नुहोस्
विमान दुर्घटना भनेको घरमा आगो लागेको जस्तै हो । इभ्याकुएसनको समयमा आफ्ना सामानहरु विर्सीएर आफ्नो ज्यान जोगाउने तिर मात्र लाग्नु पर्छ । उक्त समयमा आफ्नो व्यागेज वा सामान लिएर हिड्दा आफ्नो वा अरुको ज्यान जोखिममा पार्नु हो ।
फेडरल एडमिस्ट्रेसन (एफएए) ले गरेको अनिर्वाय नियमअनुसार सबै कमर्शीयल एयरक्राफ्टहरुबाट ९० सेकेन्ड भित्र सबै यात्रु इभ्याकुएसन भईसकेको हुनुपर्छ । सो समयमा तपाई छिटोछिटो निस्कनुपर्ने हुन्छ । आफ्नो सामान लिएर निस्कन खोजेमा स्पिड स्लो हुने तथा सानो बाटो पनि रोकिन सक्छ ।

८. पानीमा इभ्याकुएसनको बेलामा लाईफ ज्याकेट विमान बाहिर आएर मात्र खोल्ने
लाईफ ज्याकेट पानीमा दुर्घटना वा ल्याण्ड भएको अवस्थामा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । तर, लाईफ ज्याकेट लगाएर त्यसको लक भने विमान बाहिर निस्किएर मात्र खोल्नु पर्छ । यदि विमान भित्रै लाईफ ज्याकेट अनलक गरेमा त्यसमा हावा भरिन गई फूल्ने गर्छ फलस्वरुप साईज बड्न गई विमानबाट बाहिर निस्कन समस्या हुनसक्छ । यसको काम भनेको पानीमा डुब्नबाट जोगाउने होे । विमान भित्रै खोलेमा धारीलो बस्तुले लागेर पड्चर पनि हुन सक्छ जसको कारण पानीमा तैरिन कठिन हुन्छ ।
९. विमानबाट भाग्नु परेमा हामफाल्ने होइन
क्रयास ल्याण्डिङ भएको अवस्थामा एकै पटक इमर्जेन्सी एक्जिट खोलेर हामफाल्नु हुदैन । क्याविन क्रुहरुले इमर्जेन्सीको समयमा कसरी काम गर्ने भनेर ट्रेनिङ लिएका हुने भएकोले उनिहरुको इन्स्टक्सनको पालना गर्नुपछ्र्र ।
इमर्जेन्सी एक्जिट कसरी खोल्ने भनेर पनि जानकारी हुन जरुरी हुन्छ । कहिलेकाही इमर्जेन्सी एक्जिटको कुन साईडबाट निस्कने त्यो पनि महत्वपूर्ण हुन सक्छ । कुनै साइडमा भिर रहेछ भने त्यो साईडमा गएमा झन चोटपटक लाग्न सक्छ । इमर्जेन्सी एक्जिटमा स्लाईडर जोडिएको हुन्छ, त्यसमा कसरी स्लाईड गर्ने त्यो पनि जान्नु पर्ने हुन्छ ।
१०. सधै क्रुमेम्बरको आदेश मान्नु पर्छ
सधै पाइलट वा क्याविन क्रुमेम्वरको निर्देशन मान्नै पर्छ । उनिहरुको डाइरेक्सन फलो गर्नु पर्छ । किनकी उनीहरुको मुख्य काम नै यात्रुहरुलाई सहयोग तथा सुरक्षा प्रदान गर्ने हो । विमानका बारेमा सबैभन्दा बढी क्रुमेम्बर तथा पाईलटहरुलाई थाहहुन्छ । तपाईलाई विमानका बारेमा जतिसुकै थाहा भएता पनि वा जतिसुकै सेफ्टी आर्टिकलहरु पढेता पनि दुर्घटनाको समयमा क्याविन क्रूहरुको सहयोग सबैभन्दा उपयूक्त हुन्छ ।

