काठमाडौं । टोयोटाले भारतमा उत्पादन गर्ने पहिलो एसयूभी ६ महिना भित्रै बजारमा आउने बताइएको छ । कम्पनीले सुजुकीसँगको सहकार्यमा भारतमा उत्पादन गर्ने पहिलो एसयूभी कस्तो हुन्छ भन्ने चासो बढ्दै गएको छ ।
मारुती सुजुकीले भने आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको नाम ई-भिटारा राखिसकेको छ । सुजुकी ई-भिटारा र टोयोटाको नयाँ इलेक्ट्रीक एसयूभी भारतको गुजरातमा उत्पादन हुनेछ ।
अधिकांश पार्टस् सेयर हुने ई-भिटारा र टोयोटाको नयाँ एसयूभीमा ब्याट्री र मोटर पनि एउटै हुन्छ वा हुन्न भन्ने एकिन जानकारी बाहिर आएको छैन । तर, आगामी जनवरीमा हुने भारत मोविलिटी एक्स्पोमा भने टोयोटाले आफ्नो प्रोडक्सन मोडल देखाउने अपेक्षा गरिएको छ ।
सुजुकी ई-भिटारा भने २०२५ मार्चदेखि भारतमा बिक्री नै सुरू हुनेछ । दुई जापानी ब्राण्डले आफ्नो पहिलो ईभीमा एलएफपी ब्लेड ब्याट्री प्रयोग गर्नेछन् । सुजुकीले ई-भिटारामा ४९ किलोवाट आवर तथा ६१ किलोवाट आवरको दुई साइजको ब्याट्री दिएको छ । टोयोटाले भने कुनै जानकारी दिएको छैन ।

सुजुकीले ई-भिटारामा फ्रन्टह्वील ड्राइभ अप्सनमा १०६ र १३५ किलोवाटको दुई मोटर अप्सन रहेको छ । जसमा ४९ किलोवाट आवरको ब्याट्री अप्सनसँग दिएको मोटरले १४४ हर्सपावर तथा ६१ किलोवाट आवरको ब्याट्री अप्सनसँग दिएको मोटरले १७४ हर्सपावर र १८९ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।
त्यस्तै, ई अलग्रिप अप्सन भएको अलह्वील दिएको मोटरले भने कम्बाईन १८४ हर्सपावर तथा ३०० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।
सुजुकी र टोयोटाले ल्याउने इलेक्ट्रीक एसयूभीमा फ्लोटिङ डिउल स्क्रृन, अटोमेटीक क्लाइमेट कन्टोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास, पानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जर लगायत फिचर रहने छन् ।
टोयोटाको ‘४० पीएल बर्न इलेक्ट्रीक प्लेटफर्म’मा बन्ने मिडसाइज एसयूभीले भारत तथा नेपाली बजारमा टाटा कर्भ ईभी, एमजी जेडएस ईभी, सेरेश थ्री, केईको एक्सथ्री प्रो तथा हुन्डाई र महिन्द्राले ल्याउँदै गरेको क्रेटा ईभी र बीई-६ सँग प्रतिस्पर्धा गर्नेछ ।

