काठमाडौं । टाटाको पछिल्लो माइक्रो एसयूभी पन्च ईभी अहिले बजारमा उत्कृष्ट ब्यापार गरिरहेको छ । भदौंमा भएको नाडा अटो शो २०२४ मा पहिलो पटक सार्वजनिक भएको पन्च ईभी अहिले बजारको ‘हिट’ मोडल हो ।
टाटा पन्चको ब्यापार बढ्नुमा धेरै कारणले प्रभाव पारेको भएपनि यसको सेफ्टी र फिचर लोडेड हुनुलाई धेरैले मुख्य कारण मान्दै आएका छन् । अझ नेपालमा बिक्री हुने साना एसयूभीमा पन्च ईभी भारतमा बनेकै कारण खरिद गर्नेपनि धेरै भेटिन्छन् ।
साउनदेखि नै सिप्रदी ट्रेडिङले आयात सुरु गरेको पन्च ईभी कार्तिक मसान्तसम्ममा ४५५ युनिट आयात भएको छ । अहिले बजारमा बाक्लै उपस्थिति जनाउन सफल पन्च ईभी धेरै कोणबाट उत्कृष्ट देखिन्छ ।
हामीले टाटा पन्च ईभीको बिक्रीमा मुख्य भूमिका निर्वाह गर्ने ६ कारणलाई यहाँ प्रस्तुत गरेका छौं । करिब दुई दर्जन पन्च ईभी प्रयोग गर्दै आएका मानिससँगको कुराकानीको आधारमा यो रिपोर्ट तयार पारिएको हो ।
१. सेफ्टीमा अब्बल
पन्च ईभी माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध कार हो । यसले ग्लोवल एनक्याप र भारत एनक्याप दुबै क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।
पन्च ईभीको स्टायण्डर्ड भेरियन्टबाटै ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेविलीटी कन्ट्रोल, ब्लाइन्ड स्पट मोनिटरिङ, चारवटै चक्कामा डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छन् । हामीले गरेको टेष्ट ड्राइभको आधारमा पनि रातिको समयमा चलाउँदा हेडलाइटको प्रकाश पनि प्रसस्तै रहेको पायौं ।

२. ब्यूल्ट क्वालीटी
टाटाले हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बनाएको पन्च ईभी निकै एरोडाइनामिक छ । त्यसैले त टाटाका विगतका ईभीको तुलनामा पन्चको पर्फर्मेन्स पनि राम्रो पाउन सकिन्छ ।
पन्चको ब्यूल्ट क्वालिटीको विषयमा निकै चर्चा हुने गरेको छ । बडीमा प्रयोग भएको स्टील होस् वा प्लाष्टिक दुबैको गुणस्तर राम्रो पाएको उपभोक्ताहरुको भनाइ छ ।
३. उत्कृष्ट मूल्य
सिप्रदी ट्रेडिङले नेपाली बजारमा पन्च ईभीलाई तीन भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनले मिड रेन्जमा एक भेरियन्ट र लङ रेन्जमा दुई भेरियन्ट बिक्री गर्दै आएको छ । मूल्यका हिसावले एउटा एसयूभी तपाईले उत्कृष्ट मूल्यमा खरिद गर्न सक्नु हुन्छ ।

यसको मिड रेन्ज (एमआर)को टप भेरियन्ट इम्पावर्ड प्लस एसको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी लङ रेन्ज (एलआर) को इम्पावर्ड भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ छ । टप भेरियन्ट इम्पावर्ड प्लस एसको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको हो ।
४. पावर
ठूला क्रसओभर एसयूभी मोडल नै १०० किलोवाट र त्योभन्दा कम क्षमताका मोटरमा उपलब्ध बजारमा टाटाले माइक्रो एसयूभीलाई ९० किलोवाट क्षमताको मोटरमा उपलब्ध गराएको छ । यसमा पीकटर्क १९० एनएम पाउन सकिन्छ । जुन उत्कृष्ट पावर हो ।
५. एसयूभी डिजाइन

नेपालमा धेरैले किन्नुको पछाडि एसयूभी डिजाइनलाई मुख्य कारण मान्न सकिन्छ । हामीसँग कुरा गर्ने अधिकांश प्रयोगकर्ताले यसको डिजाइनलाई मुख्य कारण मानेका छन् । साथै, यसमा रहेको १९० एमएमको ग्राउन्ड क्लियरेन्सलाई राम्रो मान्न सकिन्छ ।
६. फिचर लोडेड

टाटा पन्चमा २५ र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । सिंगल चार्जमा २३५ देखि २५० किलोमिटरसम्म रेन्ज दिन्छ । टाटाले ‘एक्टी डट ईभी’ प्लेटफर्ममा बनाएको पन्च ईभीमा भेन्टीलेटेड सिट, ३६० डिग्री क्यामेरा, सनरुफ, वायरलेस चार्जर जस्ता फिचर छन् ।
त्यसका अलावा ठूलो इन्फोटेन्टमेन्ट र इन्ट्रुमेन्ट क्लष्टर दिइएको पन्च ईभीमा उत्कृष्ट क्वालीटीको इमेज, डिजिटल बटमहरुको प्रयोग उत्कृष्ट रहेको छ ।

