२२७ मोडलका कारको मूल्य घट्यो

काठमाडौं । चिनियाँ बजारमा उत्पादन वृद्धि र तिब्र प्रतिस्पर्धाका कारण सन् २०२४ मा २२७ मोडलका कारको मूल्य घटेको थियो । चाइना प्यासेन्जर कार एशोसियशनका महासचिव कुइ डोङ्शुका अनुसार एक वर्षमै यति धेरै कार मोडलको मूल्य घटेको पहिलो पटक हो ।

सन् २०२३ मा पनि चीनमा ७९ मोडलको मूल्य घटेको थियो । एशोसिएशनका अनुसार चीनमा गतवर्ष सबै किसिमका मोडलको मूल्य घटेको छ । गत वर्ष ग्यासोलीन र ब्याट्री इलेक्ट्रीक मोडलको मूल्य धेरै घटेको हो । सन् २०२४ मा ८८ वटा ग्यासोलीन र ८२ वटा ब्याट्री इलेक्ट्रीक भेहिकलको मूल्य घटेको हो ।

त्यस्तै हाइब्रिड १७ मोडल, प्लगइन हाइब्रिड ३४ मोडल र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकलको १४ मोडलमा मूल्य घटेको थियो । सबै मोडलमा औषत १६ हजार आरएमबी करिब ३ लाख नेपाली रुपैया बरावर मूल्य घटेको हो ।

सबैभन्दा बढी न्यू इनर्जी भेहिकलमा १८ हजार आरएमबी करिब ३ लाख ४० हजार रुपैयाँले मूल्य घटेको छ । परम्परागत ग्यासोलीन गाडीमा १३ हजार आरएमबी २ लाख ४४ हजार नेपाली रुपैयाँले मूल्य घटेको हो ।

चिनियाँ बजारमा न्यू इनर्जी भेहिकलको मूल्य फेब्रुअरीबाट अप्रिल र जुलाईबाट सेप्टेम्बरसम्म तथा ग्यासोलिन भेहिकलको मूल्य मार्चबाट अप्रिल र जुलाई, सेप्टेम्बर र नोभेम्बरमा घटेको देखिन्छ ।


Back_to_top