सन् २०२५ लागेपछिको सबैभन्दा सस्तो नयाँ ईभी बिक्री सुरु हुँदै

काठमाडौं । नयाँ वर्ष २०२५ लागेसँगै नयाँ नयाँ मोडलहरु पनि बजारमा आउन थालेका छन् । विशेषगरी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा धेरै मोडल बजार प्रबेशको तयारी गरिरहेको समयमा कम मूल्यको ह्याचव्याक कार बजारमा आउन लागेको हो ।

लीपमोटरको ह्याचव्याक कार टी-०३ केही दिनमै बिक्री सुरु गर्ने तयारी साँग्रिला मोटर्सले गरिरहेको जनाएको छ । सम्भवत यही साता भित्रै टी-०३ को बुकिङ खुला हुनेछ ।

सन् २०२५ लागेपछि बजारमा आउने सबैभन्दा कम मूल्यको ईभी बन्न लागेको टी-०३ लीपमोटरको अन्तर्राष्ट्रिय स्पेक हो । नेपाली बजारमा ३० लाखभन्दा कम मूल्य तोकेर यसको बिक्री सुरु हुन लागेको छ । युरोपमा पनि यसको बिक्री सुरु हुँदैछ । केही देशमा त यसको बिक्री यसअघि नै सुरु भइसकेको छ ।

नेपाली बजारमा लामो समयदेखि यसको परीक्षण भइरहेको भएपनि बिक्रीको लागि समय लागेको हो । साँग्रिला मोटर स्रोतले भन्यो, ‘परीक्षण भइरहेको छ । ५ हजार किलोमिटर टेष्ट पुरा भयो । अब केही दिनमै बुकिङ खुला गर्नेछौं ।’

यस्तो छ टी-०३

टी-०३ ह्याचव्याक कारको लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम छ । यसमा २४०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड जस्ता फिचरले यसलाई उत्कृष्ट ह्याचव्याक बनाएको छ ।

कारको अगाडि भागमा नै चार्जिङ पोर्ट दिइएको छ । एसी र डिसी फास्ट चार्जर सपोर्ट गर्ने टी-०३ मा क्लोजअफ ग्रिल, राउन्ड सेपमा तयार भएको हेडल्याम्प हाउजिङ, प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ ।

लिप मोटर्सले टी-०३ मा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको टीएफटी डिस्प्ले, भिजन रुफ पनि दिएको छ ।

एडास फिचर, सेफ्टी सेन्स र आकर्षक स्टेरिङ ह्वील दिइएको कारको ड्यासबोर्ड हाडटप मेटेरियलबाट बनेको छ । कडा प्लाष्टिकको मेटेरियल भएपनि ड्यासबोर्डको फिनिसिङ भने उत्कृष्ट छ । लीपमोटरको टी-०३ मा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई पावर दिन ३७ किलोवाट आवर क्षमता ब्याट्री प्याक उपलब्ध छ ।


Back_to_top