बीवाइडीका कारमा ३४ प्रतिशतसम्मले घट्यो मूल्य

काठमाडौं । चीनको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले चीनमा विशेष छुट अफर सार्वजनिक गरेको छ । कम्पनीले आगामी जुन महिनको अन्त्यसम्मको लागि ल्याएको स्कीममा गाडी खरिद गर्न चाहने ३४ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

चिनियाँ उत्पादकले आफ्नो २२ मोडलमा १० देखि ३४ प्रतिशतसम्म छुट घोषणा गरेसँगै चीनको अटोमोबाइल बजारमा ठूलो तरंग उत्पन्न भएको हो । योसँगै अब चीनको ईभी बजारमा दोस्रो चरणको ‘प्राइस वार’ सुरु भएको अनुमान गरिएको छ ।

चिनियाँ बजारमा मोडल अनुसार दिइएको छुट

बीवाइडीले डाइनेष्टी र ओसियन सिरिजका भेहिकलहरुमा १० देखि ३० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । कम्पनीले ओसियन सिरिजको सिगलमा २०.६ प्रतिशत, डल्फिनमा २२.०४ प्रतिशतदेखि सिल-०७ डीएमआईमा ३४.०२ प्रतिशत छुट अफर गरको हो ।

त्यस्तै कम्पनीले डाइनेष्टी सिरिजको युवान प्लस (एटो ३) मा १०.३६ प्रतिशत, युवान अप (एटो २) मा १५.०३ प्रतिशत छुट अफर गरको छ । कम्पनीले डायनेष्टी सिरिजमा सबैभन्दा धेरै क्वीन प्लस डीएमआईमा सबैभन्दा धेरै २०.०५ प्रतिशतको छुट अफर गरको हो ।

दोयचे बैकका एनालिस्ट वाङ बीनका अनुसार पछिल्लो समयमा बीवाइडीका स्थानीय डिलरहरुमा ठूलो संख्यामा स्टक थुप्रिएकाले बीवाइडीले ‘छुटको स्कीम’ सार्वजनिक गरेको हो । बीवाइडीका डिलरहरुमा सन् २०२५ को पहिलो ४ महिनामा  अघिल्लो सोहि अवधिको तुलनामा १ लाख ५० हजारभन्दा बढिले स्टक थुप्रिएको बैंकको दावी छ । अहिले बीवाइडीका डिलरहरूसँग ३-४ महिनाकोलागि पूग्दो स्टक रहेको बताइएको छ ।

बीवाइडीले सन् २०२५ मा ५५ लाख युनिट गाडी बेच्ने लक्ष्य निर्धारण गरेको छ । उक्त लक्ष्य अघिल्लो वर्षकोभन्दा ३० प्रतिशतले धेरै हो । चालु वर्षको पहिलो चार महिनाको बिक्री भने अघिल्लो वर्षकोभन्दा १५ प्रतिशतले वृद्धि भएको छ ।


Back_to_top